काठमाडौँ । बेलायतबाट फिर्ता बोलाइएका नेपाली राजदूत चन्द्र घिमिरेले स्वदेश फर्किएलगत्तै राजीनामा दिएका छन् ।
सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेश विपरीत उनलाई तीन दिनभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएपछि उनी मंगलबार साँझ नेपाल फर्किएका थिए । त्यसपछि उनले बिहीबार परराष्ट्र मन्त्रालयमा औपचारिक राजीनामा पेश गरेका हुन् ।
राजीनामा बुझाएपछि राज्यले आवश्यक सम्मान र गरिमा नदिँदा काम गर्न नसकिने प्रतिक्रिया दिएका छन् । राजीनामासँगै उनले बेलायतमा आफ्नो करिब नौ महिनाको कार्यकालको १५ पृष्ठ लामो प्रगति प्रतिवेदन पनि मन्त्रालयमा बुझाएका छन्।
उनको प्रतिवेदनअनुसार बेलायती सरकारसँग भूतपूर्व गोर्खाहरूको समान पेन्सन मुद्दा समाधानका लागि वार्ता अघि बढाइएको, आर्थिक कूटनीति र पर्यटन प्रवर्द्धनमा प्राथमिकता दिइएको र सेलिब्रेटी आरोहीहरूलाई समावेश गरेर प्रचारात्मक कार्यक्रमहरू आयोजना गरिएको छ ।
घिमिरेले बेलायती राजनीतिज्ञ, उद्योगपति, बौद्धिक वर्ग र थिंक ट्याङ्कहरूसँग सम्बन्ध विस्तार गरी नेपालका हितमा कूटनीतिक पहलहरू अघि बढाएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया