दर्जनौँ प्रहरी अधिकारीलाई जाँचबुझ आयोगले तोक्यो स्थानहद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ कार्तिक २०८२, मंगलवार ०६:०२

काठमाडौँ ।  जेनजी आन्दोलनको अनुसन्धानका लागि बनेको आयोगले जिम्मेवारी सम्हालेका तत्कालीन प्रहरी इन्चार्जहरूलाई बयानका लागि स्थानहद जारी गरेको छ । आयोगका अनुसार, प्रारम्भिक चरणमा खटिएका सबै कर्मचारीको विवरण प्रहरी प्रधान कार्यालयबाट माग गरिएको थियो । तर पटक-पटक अनुरोध गर्दा पनि विवरण प्राप्त भएको थिएन ।

प्रधान कार्यालयले खटिएका कर्मचारीको संख्या मात्र पठाएको र व्यक्तिगत नाम उल्लेख नगरेपछि आयोगले कमान्डरहरूलाई आइतबार स्थानहद जारी गरेको हो। यसअघि आयोगले कतिपय कमान्डरको कल डिटेल्स (सीडीआर) र अन्य घटनाको अनुसन्धान सम्पन्न गरेको थियो ।

स्थानहद जारी भएकामध्ये उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की, निमित्त प्रमुख डिआइजी ओमबहादुर राना, एसएसपी दीपसमशेर जबरा, उपत्यका ट्राफिक प्रमुख नवराज अधिकारी, सर्वोच्च अदालत सुरक्षा इकाई प्रमुख एसपी सुरेश काफ्ले, काठमाडौँ प्रमुख एसएसपी विश्व अधिकारी, ललितपुर एसएसपी श्यामकृष्ण अधिकारी, भक्तपुर एसपी माधव बुढाथोकी, र अन्य दर्जनौँ कमान्डरहरू रहेका छन् ।

उपत्यका बाहिर सरुवा वा तालिममा रहेका केही कमाण्डरलाई पनि तत्काल काठमाडौँ बोलाइने आयोगले जनाएको छ । आयोगले स्थानहद उनीहरूमाथिको अनुसन्धान पूरा नभएसम्म जारी रहने जनाएको छ।

प्रतिक्रिया