बुढानीलकण्ठमा अन्तर्राष्ट्रिय वादेरियो कराते च्याम्पियनसिप कात्तिक १४ देखि सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०८२, बिहीबार ०६:२०

काठमाडौं। वादेरियो कराते–डो रेन्मेई संघ नेपाल र बुढानीलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डको संयुक्त आयोजनामा तथा बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा ‘पहिलो अन्तर्राष्ट्रिय वादेरियो कराते सेमिनार तथा च्याम्पियनसिप–२०२५’ आगामी कात्तिक १४ देखि १६ गतेसम्म बुढानीलकण्ठ नगरपालिका–८, गोल्फुटारस्थित सेमि इन्डोर बास्केटबल कोर्टमा आयोजना हुने भएको छ।

 

आयोजकका अनुसार तीन दिनसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालसहित सात देशका करिब ४०० जना खेलाडी, प्रशिक्षक र अधिकारीहरूको सहभागिता रहनेछ। नेपालका २५० जना, भारतका ६० जना, पाकिस्तानका २५ जना, बंगलादेशका २० जना, श्रीलंकाका १५ जना, इन्डोनेसियाका १५ जना र संयुक्त अरब इमिरेट्स (यूएई) का १० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

आयोजनाको उद्देश्य नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा अभिवृद्धि गराउनु, विदेशी खेलाडीहरूसँग अनुभव साटासाटको अवसर प्रदान गर्नु र नेपालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतियोगिता सञ्चालन गर्न सकिने क्षमता प्रदर्शन गर्नु रहेको आयोजक संस्थाले जनाएको छ। प्रतियोगिताका सबै खेलहरू अन्तर्राष्ट्रिय नियम र मापदण्डअनुसार सञ्चालन गरिने पनि जानकारी दिइएको छ।

सो अवसरमा आयोजित पत्रकार सम्मेलनमा बुढानीलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डका अध्यक्ष सुमन तामाङ्ग, उपाध्यक्ष दीपक तामाङ्ग, सदस्य विराज राना सहित बोर्डका अन्य पदाधिकारीहरू, वादेरियो कराते–डो रेन्मेई संघ नेपालका अध्यक्ष एवं प्रमुख प्रशिक्षक बाबुराम लामा, प्रशिक्षकहरू कृष्णशरण खड्का, हिमाल सिंह, देवेश थापा, नारायण श्रेष्ठ, बिजेन्द्र पुडासैनी लगायतको उपस्थिति रहेको थियो।

बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा तयारी तीव्र गतिमा अघि बढाइएको आयोजक संस्थाले जनाएको छ। साथै, प्रतियोगितालाई सफल र प्रभावकारी बनाउन सबै निकाय र खेलप्रेमीहरूलाई सहयोग र सहभागिताको आह्वान समेत गरेको छ।

प्रतिक्रिया

Leave a Reply