हेटौँडा । अविरल वर्षाका कारण बागमती प्रदेशका विभिन्न स्थानमा पहिरो खस्दा र जमिन भासिँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार अविरल वर्षाका कारण मकवानपुर, चितवन, धादिङ, काभ्रे, सिन्धुपाल्चोक र रामेछाप जिल्लामा पहिरो र बाढी तथा जमिन भासिँदा सडक सञ्जाल अवरुद्ध भएको हो ।
कार्यालयको शनिबार साँझको विपद्सम्बन्धी घटना विवरणअनुसार सडक अवरुद्ध हुँदा ९५४ जना यात्रु विभिन्न स्थानमा अलपत्र परेका छन् । प्रहरीका अनुसार सबैभन्दा बढी सिन्धुलीको ढुङ्गेवासदेखि दुम्जासम्मको क्षेत्रमा ९१५ जना यात्रु रोकिएका छन् भने काभ्रेको मंगलटारमा ३९ जना यात्रु होल्डमा छन् । अलपत्र पर्नेमा ४५२ महिला र ५०२ पुरुष रहेका छन् ।
विवरण अनुसार सबैभन्दा बढी असर सिन्धुलीको ढुङ्गेवासदेखि दुम्जा खण्डमा परेको छ । उक्त स्थानमा ५०० जना बसमा, ३०० जना साना सवारीमा र १२५ जना मोटरसाइकलमा गरी कुल ९२५ जना यात्रु रोकिएका छन् । जसमा बसमा २०० महिला र ३०० पुरुष, साना सवारीमा २०० महिला र १०० पुरुष तथा मोटरसाइकलमा ७५ महिला र ५० पुरुष रहेका छन् ।
त्यसैगरी, काभ्रेको मंगलटार क्षेत्रमा साना सवारी साधनमा सवार ३९ जना यात्रु होल्डमा परेका छन् । जसमा १२ महिला र २७ पुरुष रहेका छन् । उनीहरू बस, साना सवारी साधन र मोटरसाइकलमा यात्रा गरिरहेका थिए । प्रहरीले होल्डमा रहेका यात्रु र सवारी साधनलाई सुरक्षित स्थानतर्फ पठाउने कार्य भइरहेको जनाएको छ ।
कहाँ–कहाँ सडक अवरुद्ध ?
प्रदेशभरि पहिरो, जमिन भासिने र सडक कटानका कारण ११ भन्दा बढी स्थानमा सडक अवरुद्ध भएको छ । जसमध्ये ६ स्थानमा दुईतर्फी र ५ स्थानमा एकतर्फी यातायात बन्द छ । इन्द्रसरोवर गाउँपालिका–४ स्थित महालक्ष्मी खोला र भिमफेदि गाउँपालिका–८ को बगुवा खोलामा पहिरोले बाटो दुईतर्फी बन्द भएको छ ।
इच्छाकामना गाउँपालिका–६ मा पहिरो झरेर बाटो एकतर्फी अवरोध भएको छ । गजुरी गाउँपालिकाको घाटबेसी र जहर खेतमा पहिरोले बाटो एकतर्फी बन्द छ । बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा भने पहिरोले बाटो दुईतर्फी नै बन्द भएको छ ।
काभ्रेको धुलिखेल नगरपालिका–८ पकुचामा अरनिको राजमार्ग दुईतर्फी अवरुद्ध छ । रोशी गाउँपालिका–११ मा वीपी राजमार्ग र वडा नम्बर–९ बोक्सिकुनामा रोशी खोलामा बाटो दुईतर्फी बन्द भएको छ । भोटकोशी गाउँपालिका–४ चारकिलोमा जमिन भासिएर सडक अवरुद्ध छ । रामेछापको खाँडादेवी गाउँपालिका–१ खैरेनिघाटमा पनि सडक अवरुद्ध भएको छ ।
विपद् उद्धारमा प्रहरी परिचालन र क्षतिको अवस्था
कार्यालयका अनुसार हालसम्म कुनै पनि मानवीय तथा सवारी साधनको क्षति भएको छैन । विपद् उद्धार तथा अवरुद्ध सडक खुलाउने प्रयासका लागि प्रदेशभर ९९२ जना प्रहरी परिचालन गरिएको छ ।
साथै, बागमती प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी विशेष सुरक्षा गण र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म लगायतका निकायहरूबाट थप ८२५ जना प्रहरीलाई तयारी ’स्ट्यान्डबाइ’ अवस्थामा राखिएको छ ।
प्रदेशका सबै जिल्लामा पानी परिरहेको र थप पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । प्रहरी टोलीहरू अवरुद्ध सडक खुलाउन निरन्तर प्रयासरत रहेको जनाइएको छ ।
प्रतिक्रिया