दसैँ खानपान : के कति खाने र कसरी खाने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०८२, मंगलवार ०४:१२

नेपालीको सबैभन्दा ठुलो पर्व दसैँ सुरु भएको छ । दसैँ सुरु भएसँगै विदेश गएका नेपाली स्वदेश फर्किंदै छन् भने स्वदेशमै पनि सहरमा बस्दै आएकाहरू दसैँ मनाउन आफ्नो घर जाँदै छन् । दसैँ भन्ने बित्तिकै रमाइलो गर्ने, मजाले मिठोमिठो खाने, आराम गर्ने पर्वका रूपमा लिन गरिन्छ । वर्षदिनको एकचोटी मनाउने दसैँपर्व उत्साहका साथ मनाउने गरिन्छ । दसैँको समयमा अरू बेलाभन्दा सबैजना फुसर्दिला हन्छन् ।

ऋण गरेर भए पनि नयाँ लगाउने र मिठो खानुपर्छ भन्ने मान्यता छ । तर, दसैँ पहिलाको जस्तो नरहेको धेरैको बुझाइ छ । त्यसैले कतिलाई दसैँ बोझिलो पनि लाग्न थालेको छ । दसैँमा खाने पिउने काम अरू बेलाभन्दा बढी नै हुन्छ । दसैँमा सामान्यत अरू बेलाभन्दा बढी मासुजस्ता पौष्टिक पदार्थ खाने, खासै शारीरिक श्रम नगर्नेे गर्दा स्वास्थ्यमा असर पर्छ । यसमा पनि सचेत हुनुपर्ने देखिन्छ ।

जिब्रोलाई कन्ट्रोल गर्नुपर्छ : डा. अरुणा उप्रेती

दसैँ छोटो समयावधिमा बढी खानपान गरिने पर्वमा पर्छ । यो बेला नेपाली समाजमा बढी मासु भात, मासु चिउरा खाने गरिन्छ । पहिला पहिला मान्छेसँग धेरै पैसा हुँदैनथ्यो । दसैँको बेला ऋण गरेर भए पनि पैसाको जोहो हुन्थ्यो र खाना पनि त्यहीअनुसार व्यवस्था हुन्थ्यो र खाइन्थ्यो । यातायातका साधन र प्रविधि नहुँदा शारीरिक श्रम पनि बढी नै हुन्थ्यो । तर अहिले पहिलाको जस्तो छैन । अरू बेला पनि मान्छे मासु खाइरहेकै हुन्छन् । दसँैको बेला मात्रै होइन, अरू बेला पनि कुनै पनि खाना खाँदा जर्वजस्ती कोचेर खानु हुँदैन । मासुजस्ता गरिष्ठ खानेकुरा बिहानदेखि बेलुकासम्म दिनको तीनपटक खाने बानी राम्रो होइन ।

कतिपयले दसैँको बेला मासुसँगै रक्सी पनि खाने गरेको पाइन्छ । दीर्घरोगी, कलेजो, मिर्गाैला समस्या भएका मान्छेले रक्सीलाई विष नै ठान्नुपर्छ । उनीहरूले रक्सी छुनै हुँदैन । चियो पेय पदार्थ, बट्टामा राखेको फलफूलको जुस पनि खानु हुँदैन । यी पेय पदार्थ मन्द विष नै हुन । दसैँको बेला दसैँ मनाएर रमाइलो गरेपछि अस्पताल जान पर्यो भने, काम पनि गर्न सकिँदैन, पैसा पनि खर्च हुन्छ र मानसिक तनाव पनि हुन्छ । यी सबै समस्याबाट बच्न सबै रोक्नका लागि जिब्रोलाई कन्ट्रोल गर्नुपर्छ ।

अझ दसैँमा आफन्तकोमा जाने, आफ्नोमा अरू आउने र खान खाने चलन छ । आफन्तकोमा गएपछि केही न केही खानैपर्छ भन्ने छ । यस्तो अवस्थमा पहिलो कुरो नाइँ भन्न सक्नुपर्छ । खानै परे कम खानुपर्छ । खानेकुरा पनि परपरी भुटेको, मसला र तेल धेरै भएको खाना सकेसम्म कम गर्नुपर्छ । अर्को कुरा मासु खाइसकेपछि कति मान्छेलाई कब्जियत हुने समस्या हुन सक्छ । त्यसैले मासु खाएको बेला हरियो सागपात, हरियो सलाद प्रशस्तै खानुपर्छ । हरियो सागमा रैथाने साग निहुँरो, लट्टे लगायतको साग अझ बेश हुन्छन् ।

दीर्घरोगी, मुटु रोग, रक्तचाप, मधुमेहको समस्या, मिगौलाको समस्या भएका मान्छेले त के खाने र कति खाने भन्नेबारेमा आफ्ना स्वास्थ्यकर्मीको सल्लाह लिनु राम्रो हुन्छ । स्वास्थ्य अवस्था सामान्य भएका व्यक्तिले पनि पेट अटेसमटेस हुने गरेर खान हुँदैन । आफ्नो पेट र स्वास्थ्यको ख्याल गरेर खानुपर्छ । पोलेको मासु वा सेकुवा एकदिन खाएर खासै असर पर्दैन । तर, खाने भनेर दिनमा ३–४ पटक खानु हुँदैन । खाँदा पनि थोरै कन्ट्रोल गरेरै खानुपर्छ ।

दसैँ मनाएसँगै धेरै मान्छेलाई पछि समस्या देखिने गरेको छ । दसैँमा र दसैँपछि खानाका कारण हुने स्वास्थ्य समस्या लिएर अस्पताल आउने बढी नै देखिन्छन् । त्यो समस्या हुने भनेको चाहिँ एकपटक पकाएर राखेको मासु बारम्बार भुटेर खाएको खाइरहँदा हो । त्यसरी राखेको मासु खाँदा फुडप्वाइजन हुन सक्छ । कहिलेकाहिँ सुन्ने गरिन्छ, एउटै खाना खाएको परिवारको सबैजना बिरामी भए भनेको । सबैले एउटै भाँडाको मासु भात वा मासु चिउरा खाएर बिरामी भएको भन्ने । त्यसैले चाडवाडको रमाउने खाने, आफन्त भेट्ने हो । तर, खाएको खानाले शरीरलाई फाइदा पुग्ने गरी खानुपर्छ । खाना खाँदा पचाउन सक्ने र शरीरलाई हित गर्नेगरी खानु उचित हुन्छ ।

मासुसँगै सागपात र फलफूलमा जोड दिउँ : डा.उमा कोइराला, पोषणविद्

हाम्रो समाजमा दसैँमा नखाए कहिले खाने ! दसैँमा त मज्जाले खानुपर्छ भन्ने सोच छ । अझ दसैँ भनेको विशेष गरेर मासुका परिकार खाने, मासुको पर्वका रूपमा पनि बुझ्ने गरिन्छ । माछामासु खानेहरूले मासुलाई नै प्राथमिकतामा राखेर खाने गरेको पाइन्छ । अब चाड मनाउनै पर्यो, खाँदै आएको खाना नखाने भन्ने हुँदैन । तर, खाँदा कति खाने र कसरी खाने भन्ने बारेमा भने सचेत हुनुपर्छ ।

मासु खाँदा धेरै चिल्लो, पिरो र मसला हालेर खान हुँदैन । खाँदा अड्लेर खानुपर्छ । दिनको एक पाउ (२०० ग्राम) जति मासु खान उचित हुन्छ । त्योभन्दा बढी खान भएन । दसैँमा कबाफ बनाएर मज्जाले खाने पनि गरिन्छ । त्यो पनि स्वास्थ्यका लागि हितकर हुँदैन । मासु खाँदा झोल बनाउने, मसला, तेल, पिरो कम राखेर खाने गर्नुपर्छ । अझ राम्रो त उसिनेर नुन खुर्सानी र जिराको धुलोमा चोपेर खाँदा स्वास्थ्यका लागि अलि राम्रो हुन्छ । यो स्वस्थ्यकर हुने भएकाले स्वास्थ्यमा त्यति हानि पुर्याउँदैन । धेरै चिल्लो मसला भएका खाँदा अपच हुन्छ ।

यसका साथै चाडवाडमा मासुसँगै सागपात पनि उत्तिकै मात्रामा खानुपर्छ । मासु खाएको बेला प्रसस्त मात्रामा कागती खायो भने, त्यसले कुनै किसिमको हानि गर्नबाट रोक्छ । यसका साथै सागपात र फलफूल खाएमा स्वास्थ्यलाई सकारात्मक असर पुर्याउँछ । त्यसैले हामीले माछा, मासु बढी खाएको बेला वा कमै खाएको बेला पनि कागती, सागपात र फलफूल पनि खानुपर्छ । अब दसैँमा मासु नखाने भन्न सकिन्न । खाने तर कम खाने । अनि सँगै सागपात, कागती र फलफूलमा जोड दिनुपर्छ । कागतीले खाना पचाउनका साथै मासुमा भएको आइरनजन्य तत्वलाई सोस्न मद्दत गर्छ ।

खाना खाएर मात्रै हुँदैन, हामीले खाएको खाने कुरा शरीरमा राम्रोसँग उपभोग होस् भन्ने कुरामा सचेत पनि हुनपर्छ । शरीरलाई सुरक्षित पनि पारोस् भन्ने बारेमा सचेत हुनैपर्छ । अझ दसैँका बेला बढी खाने र काम नगर्ने भएकाले पनि खाना पचाउन गाह्रो हुन्छ । दसैँ भनेकै कामधाम गर्न नपर्ने र मज्जाले खाने भन्ने बुझाइ पनि छ । घरमा पनि टन्न खाने, आफन्तकोमा गएको बेला पनि खान पर्ने हाम्रो चलन छ । यस्तो बेला खाने मान्छेले ख्याल गर्नुपर्छ । कति खानुपर्ने हो र बिहानदेखि कति खाइएको छ भन्ने बारेमा खाने मान्छेले सोच्नै पर्छ । खाएको खाना पचाउन सक्ने गरी खानुपर्छ । मज्जाले दसैँ मानेर दसैँ सकिन नपाउँदै अस्पताल जाने अवस्था नआओस् ।

आफन्तकोमा गएका बेला मासुका साथै दही मोही खाने, दही चिउरा, कागती पानी खाने गर्नुपर्छ । दसैँका बेला आफन्तकोमा गएपछि पहिलो खाना भनेको मासु नै हुन्छ । तर, खानेले मिलाएर खानुपर्छ । जहाँ जति भेटिन्छ मासु नै खानुपर्छ भन्ने सोच त्याग्नुपर्छ ।

प्रतिक्रिया