काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट भएको क्षतिमा २२ अर्ब २५ करोड ६५ लाख बराबरको बिमा दाबी परेको छ । नेपाल बिमा प्राधिकरणले जनाएअनुसार असोज ५ गतेसम्म १८ वटा निर्जीवन बिमा कम्पनीमा सो बराबरको २ हजार ४७८ दाबी परेको हो ।
जसमा सबैभन्दा बढी दि. ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा बिमा दाबी परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले जनाएअनुसार ओरिएन्टलमा ५ अर्ब २२ करोड ९८ लाख बराबरको बिमा दाबी परेको छ । विभिन्न ७३ वटाले सो बराबरको दाबी माग गरेका हुन् ।
ओरिएन्टलपछि सिद्धार्थ प्रिमियरमा सबैभन्दा बढी बिमा दाबी परेको छ । जसमा २७९ वटा ५ अर्ब ८ करोड २८ लाख बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले जनाएअनुसार आइजिआई प्रूडेन्सियल २ अर्ब ७६ करोड, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५४ करोड, हिमालयन एभरेस्टमा १ अर्ब १५ करोड र नेको इन्स्योरेन्समा १ अर्ब १८ करोडको बिमा दाबी परेको छ ।
सबैभन्दा बढी सम्पत्ति बिमा दाबी
प्राधिकरणले जनाएअनुसार सबैभन्दा बढी रकम सम्पत्ति बिमाअनुसार बिमा दाबी परेको छ । जसमा १८ अर्ब ६१ करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।
यसैगरी, आन्दोलनका क्रममा सबैभन्दा बढी क्षति सवारी साधनमा भएको देखिएको छ । प्राधिकरणका अनुसार जसमा २ अर्ब ९५ करोड बराबरको १ हजार ७७८ वटा बिमा दाबी परेको छ ।
बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशबाट परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बागमती प्रदेशबाट मात्रै १७ अर्ब ९७ करोड बराबरको १ हजार ३४३ वटा बिमा दाबी परेको छ ।
बिमा दाबीका आधारमा सबैभन्दा कम कर्णाली प्रदेश परेको छ । जसमा ८ करोड ९३ लाखको बिमा दाबी परेको छ ।
जेनजीको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा के–कति बराबरको क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन । सरकारले जसको यकिन गर्न राष्ट्रिय योजना आयोगको नेतृत्वमा कार्यदल निर्माण गरी ४५ दिनको समय तोकेको छ ।
यद्यपि, निजी क्षेत्रले आफ्नो मात्रै करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण दिएको छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री कार्यालयमा भएको छलफल सो विवरण प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया