काठमाडौं। नेपालीहरूको महान् चाड बडादसैं आज (सोमबार)बाट सुरु भएको छ । बडादसैंको पहिलो दिन आज सबै नेपालीहरूले आ–आफ्नो घरमा विविधपूर्वक जमरा राख्दैछन्। आज घटस्थापनाको साइत विहान ०९:१३ बजे रहेको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दूहरुको महान् पर्व बडादशैंको पहिलो दिन ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने परम्परा रहिआएको छ। दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाउने प्रचलन रहेको छ । नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ। माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ ।
देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ । जमरालाई समृद्धिको प्रतिक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।
घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धि पछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट वालुवा या माटो ल्याई जमरा राखिन्छ । जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ । यसैबीच घटस्थापनाको उपलक्ष्यमा दसैंघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रिको पूजा आरम्भ हुन्छ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीको टीकाको दिन पहेँलो जमरासँगै दुर्गा देवीको प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ ।
घटस्थापना गरिएको स्थानमा हरेक दिन अधिष्ठात्रि देवी दुर्गाका नौ स्वरूपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
बडादसैंको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैंघर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमददेवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुति पाठ गरिन्छ । यस अवसरमा देशभरका शक्तिपीठहरूमा पूजाआजाका लागि भक्तजनहरूको घुँइचो लाग्ने गर्दछ ।
प्रतिक्रिया