अमेरिकाको दक्षिणी पेन्सिल्भेनियामा बुधबार भएको भीषण गोलीकाण्डमा तीन प्रहरी अधिकारीहरुको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले स्थलमै मारिए ।
प्रहरी अधिकारिहरूले जनाए अनुसार, घटना घरेलु विवादसँग सम्बन्धित अघिल्लो दिनको अनुसन्धानलाई अगाडि बढाउँदै गर्दा भएको हो। यो क्षेत्र हरियालीले ढाकिएको कृषि भूभाग रहेको नर्थ कोडोरस टाउनसिप (फिलाडेल्फियादेखि करिब १८५ किलोमिटर टाढा, म्यारिल्यान्ड नजिक) मा पर्दछ।
पेन्सिल्भेनियाका गभर्नर जोश शापिरोले यस घटनालाई “पूर्ण रूपमा दुखद र विनाशकारी दिन” भन्दै शोक प्रकट गरेका छन्। उनले भने, “हामीले तीन बहुमूल्य आत्मा गुमाएका छौं, जसले यो काउन्टी, यो राज्य, र यो राष्ट्रलाई सेवा गरेका थिए। यस्तो हिंसा स्वीकार्य छैन, हामी समाजका रूपमा अझ राम्रो गर्नुपर्छ।”
एपीका अनुसार राज्य प्रहरी आयुक्त क्रिस्टोफर पेरिसले पीडितका परिवारप्रति संवेदना व्यक्त गर्दै निष्पक्ष र पूर्ण अनुसन्धान हुने आश्वासन दिएका छन्। उनले भने, “यो पीडा असह्य हुनेछ, तर हामी यसलाई सहनुपर्छ।”
यो २१ औँ शताब्दीमा पेन्सिल्भेनियामा प्रहरीका लागि सबैभन्दा घातक दिनमध्ये एक मानिएको छ। यसअघि सन् २००९ मा पिट्सबर्गमा पनि घरेलु विवादको घटनामा बोलाइएका तीन प्रहरी अधिकारीलाई एक व्यक्तिले गोली हानी हत्या गरेको थियो।
प्रतिक्रिया