काठमाडौँ । मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिंहदरवारस्थित अन्य कार्यालय झैँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनमा पनि ठुलो क्षति पुगेको छ । विश्वविद्यालयहरूले पूर्वनिर्धारित परीक्षा पछाडि सारेका छन् भने पठनपाठन प्रभावित भएको छ ।
यही भदौ २३ र २४ गते भएको जेन जेड समूहको प्रदर्शन र विभिन्न समूहले गरेको हिंसात्मक गतिविधि तथा जारी गरिएका कर्फ्युका एकाएक बन्द हुन पुगेका विद्यालयहरू आजदेखि क्रमशः खुल्न थालेका छन् ।
शिक्षा क्षेत्रमा नीतिगत नेतृत्व गर्दै शिक्षा मन्त्रालयले तत्कालका लागि केशर महलबाट अत्यावश्यक काम कारवाही सञ्चालनमा ल्याइने तयारी गरेको छ । सिंहदरवारस्थित शिक्षा मन्त्रालयको भवनमा आगलागी र तोडफोडबाट भएको क्षतिको प्रारम्भिक आँकलन गर्न आन्तरिकरुपमा कार्यदल बनाइएको छ । मन्त्रालयमा सरसफाइ एवं अन्य व्यवस्थापकीय कामहरू भइरहेको छ ।
मन्त्रालयको परिसरमा जलाइएका विभिन्न सवारी साधन भने क्षतिको आकलन र सवारी धनीको पहिचानपछि मात्रै हटाउन मिल्ने भएकाले कार्यालय परिसर अस्तव्यस्त हुन पुगेको छ ।
सोही मन्त्रालयको भुँइ तलामा रहेका राष्ट्रिय सतर्कता केन्द्रको कार्यालय पनि प्रभावित भएको छ । जेन जेड समूहको प्रदर्शन र विभिन्न समूहले गरेको हिंसात्मक गतिविधिका कारण सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत मन्त्रालयहरू ध्वस्त भएका छन् । मुलुकको विषम परिस्थितिका कारण आगामी असोज २ गते मनाइने राष्ट्रिय शिक्षा दिवसलाई पनि कुन रूपमा मनाउने भन्ने अन्योल देखिएको छ ।
शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले सिंहदरवारबाट तत्काल काम गर्न सकिने अवस्था नभएकाले नयाँ शिक्षामन्त्रीको आगमनसँगै केशरमहलबाट अत्यावश्यक कामहरू सञ्चालन गर्ने गरी तयारी भएको र सिंहदरबारमा काम गर्न मिल्ने अवस्था भएपछि पूर्ववत्रुपमा सिंहदरवारबाट काम सुरु गरिने जानकारी दिए।
प्रतिक्रिया