काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी जग्गा हडपेको भन्दै लोयल्टी एकेडेमीमा डोजर चलाएको छ । बुढानीलकण्ठ नगरपालिका–९ मा धोबीखोला करिडोर (मण्डिखाटार) मा रहेको उक्त लोयल्टी एकेडेमी विजय सम्बाहाम्फेको स्कूल हो । उनी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालका पूर्व अध्यक्षसमेत हुन् ।
प्राधिकरणका अनुसार लोयल्टी स्कूलले ५ रोपनीभन्दा बढी सार्वजनिक जग्गा हडपेर बसेकाे छ । आज (शनिबार) प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत र बोर्ड सचिव (कानून अधिकृत) घनश्याम पौडेलको अगुवाइमा सो स्कूलमा डोजर चलाइएको हो । प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त बस्नेतका अनुसार काठमाडौंमा मात्रै करिब १ लाख रोपनी सार्वजनिक जग्गा अतिक्रमित भएको छ ।
नेकपा (एमाले) बाट सांसद बनेका सम्बाहाम्फे अहिले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । लोयल्टी स्कूलमा डोजर चलाउने क्रममा सम्बाहाम्फेले प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त बस्नेत र बोर्ड सचिव पौडेलमाथि हातपातसमेत गरेका थिए ।
प्रतिक्रिया