बारा। बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई वडा कार्यालयमै बन्धक बनाएर कुटपिट गरेको घटना बाहिर आएको छ।
पर्सा बहुदरमाई घर भई हाल प्रसौनी–६ बेलहियामा बस्दै आएका स्मार्ट कोचिङ का शिक्षक नागेश्वर यादवलाई साउन २८ गते वडाध्यक्षको समूहले नियन्त्रणमा लिएर कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि घटना चर्चामा आएको हो।
पीडित शिक्षक यादवका अनुसार केही व्यक्तिले वडाध्यक्षले बोलाएको भन्दै जबरजस्ती आफूलाई समातेका थिए। पछि वडा कार्यालयमा लैजाँदा वडाध्यक्ष कुशवाहाले नलकटुवा देखाएर धम्की दिँदै अर्धनग्न बनाएर हातखुट्टा बाँधेर कुटपिट गरेका थिए। उनले कागजातमा जबरजस्ती औंठाछाप र हस्ताक्षर समेत गराएको आरोप लगाएका छन्।
“तीन–चार जना मिलेर लात्तीले हाने, ८ जना बसेर रक्सी पिउँदै कुटपिट गर्दै थिए, मारेर फालिदिन्छु भन्ने धम्की समेत दिइयो,” यादवले भने।
घटनापछि पीडितले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएपछि वडाध्यक्षलाई पक्राउ गरी शरीर बन्धक तथा कुटपिट मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
गाउँपालिका अध्यक्ष विनोदप्रसाद जयसवालले जाहेरी परेपछि प्रहरीले तत्कालै वडाध्यक्षलाई नियन्त्रणमा लिएको बताए।
यता नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित वडाध्यक्ष कुशवाहालाई घटना सार्वजनिक भएपछि पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ।
प्रतिक्रिया