तीजको दर खाने दिन : कस्तो हुनुपर्छ व्यञ्जन, के कसरी खाने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०८२, आईतवार ०५:५०

काठमाडौं । नेपाली चेलीहरुले तीजको पूर्वसन्ध्यामा खाने दरसँग जोडिएका अनेक रमाइला किस्साहरु छन् । तीजको अघिल्लो दिन दर खाने विभिन्न चरणहरु हुन्छन् । पहिले सामान्य खालको खाना खाने, दोस्रो चरणमा अलिकति मीठो मसिनो जस्तै, खिर जस्ता परिकार खाने र अन्तिममा विशेष खालको खाना खाने चलन रहिआएको छ ।

माइती आएका चेलीहरु घर परिवारको दु:ख सुख सुनाउँदै दर खाँदा कहिले भाले बास्ने त कहिले सूर्योदय भएर मुख्य खानेकुरा खान नपाउँदा कसैले पछ्यौराले घाम छिर्ने झ्यालको प्वाल छोपेर दर खाएको त कसैले भालेलाई श्राप दिएको जस्ता रोचक प्रसंगहरु दरसँग जोडिएको किंवदन्तीमा सुन्न पाइन्छ ।

आज बिहिबार नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पूर्वसन्ध्या अर्थात् दर खाने दिन हो । भोलिपल्टको निर्जला व्रतको पूर्वसन्ध्यामा शास्त्र र संस्कृतिद्वारा निर्देशिन केही पोषणयुक्त भोजन गरेर भोलिपल्टको व्रतको तयारीका लागि मध्यरातमा खाने परिकार नै दर हो । यो हिन्दु संस्कृतिमा तीजको अघिल्लो दिन मात्रै खाइन्छ ।

तीजलाई हरितालिका पनि भनिन्छ । हरित अर्थात् हरिएकी र आलि अर्थात् सति । हरिएकी सति अर्थात् पार्वतीले महादेव वर पाऊँ भनी व्रत बसेर सफल भएको भन्ने विश्वासका आधारमा यो पर्व मनाउने गरिन्छ । नेपाली समाजमा जति हरितालिका तीजलाई चर्चा र महत्व दिइन्छ उति दर खाने दिनको पनि छ ।

अहिलेको दर एउटा अवैज्ञानिक देखासिखीको शिकार भएको छ । तीजको ऐतिहासिकता खोज्दा यसको चर्चा पुराणकालमै भएको पाइन्छ । महादेव पति पाउँ भनी व्रत बसेकी पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिन लागेपछि घरबाट भागेकी पार्वतीले बसेको व्रत नै तीजको व्रत हो र अघिल्लो दिन खाएको मिष्ठान्न भोजन नै दर हो भन्ने धर्मशास्त्रका जानकार बताउँछन् ।

तीज पर्वको उल्लेख स्कन्द पुराणमा रहेको छ । जुन अनुमानित आठौं शताब्दीमा लेखिएको पुराण रहेको विद्वानहरुको अनुमान छ । त्यसपछि तिनै पुराणहरुको हवाला दिँदै व्रतराज भन्ने पुस्तकमा पनि तीजको ऐतिहासिकताको बारेमा उल्लेख छ । ती सबै पुस्तकमा दर खाने दिनलाई पर्वको रुपमा त उल्लेख गरिएको छैन, यद्यपि ती ग्रन्थमा दरको प्रसंग पाउन सकिन्छ ।

दरको रुपमा मद्य र मदिराको विकृति
अहिले वास्तविक संस्कृति अनुसार दरको रुपमा के के परिकार पकाइन्छ ? भन्ने कुरा धेरैलाई जानकारी हुन छाडेको छ । अहिलेको विकृतिले दरको रुपमा मांस र मदिरालाई समेत समेटेको छ । तर, परम्परागत तीजको दरलाई हेर्ने हो भने यो मांस बर्जित र केवल दुग्ध पदार्थको बाहुल्यता रहेको खाना दरको रुपमा विशेष थियो ।

पोषणविद्हरु पोषण र मौलिकताको हिसाबले पनि मांस र मदिरा दरसँग मिसाउनु उपयुक्त नरहेको दाबी गर्छन् । अधिकांश पहाडी भेगमा अहिले पनि बर्जित छ, यसको पछि वैज्ञानिक कारण पनि छ । दोस्रो कुरा भोलिपल्ट निर्जला व्रत बस्नेहरुको लागि दूधजन्य परिकारहरु खिर, कुरौनी आदि जति पोषिलो र भोलिपल्टसम्मको लागि ऊर्जा प्रदान गर्ने खालको हुन्छ, त्यति शक्ति मासुमा नपाइने भएकोले दरमा मासुको प्रयोग उचित हुँदैन ।

कतिबेला खाने दर ? के के खाने ?
आखिर दर कति बेला खाने ? यो विवादित कुरा हो । फरक फरक प्रसंगलाई टेकेर कसैले यो बिहान सूर्योदयअघिसम्म खान हुने तर्क गर्छन् भने कसैले भाले बास्नुअघिसम्म खान हुने तर्क गर्छन् । कसैले मध्यरात अर्थात् १२ बजेपछि खान नहुने तर्क गर्छन् । नेपालमा चन्द्रमासको दिन निर्धारण सूर्योदयको आधारमा गरिन्छ । जसका कारण कतिपयले सूर्योदयपूर्वसम्म दर खान हुन्छ भन्ने मान्यता राख्छन् ।

शास्त्रले जूठो, सूतक, रजस्वला आदि बार्ने सवालमा रात्रिलाई ३ भाग लगाउने, २ भाग अघिल्लो दिन र एक भाग भोलिपल्ट मानेर सोही अनुसार दिन निर्धारण गर्न भनेको छ । तर, व्रतको लागि हो भने उषाकाल, ब्रह्ममुहूर्त आदिको आधारमा छुट्याउने गरिन्छ । दर खाने सवालमा भने अर्धरात्रि कालभन्दा पछि दर खानु शास्त्रसम्मत नरहेको जानकार बताउँछन् ।

अरु व्रतमा किन खाइँदैन दर ?
तीजको व्रतमा मात्रै किन दर खाने ? प्रश्न आउन सक्छ । हिन्दुहरुको व्रत बस्ने अनेक पर्वहरु हुन्छन् तर अरुमा दर खाने चलन छैन । तर, तीजमा मात्रै किन आयो दर खाने चलन ? अर्कोतिर अरु व्रतको समयमा महिलाहरुले पानी फलफूल जस्ता खानेकुरा खाएर बस्छन् भने तीजको व्रतमा पानी पनि खानुहुँदैन भन्ने मान्यता छ ।

त्यस्तै, अरु व्रत बस्ने व्रतालुहरुले साँझ सूर्यास्तपछि विधिवत् पूजा गरेर व्रत टुंग्याउने गर्छन् । तर तीजको व्रतमा भोलिपल्ट पनि अगस्तीको पूजा गरेपछि मात्रै खाना खान पाइन्छ । यसरी तीजको व्रत अरु व्रतको तुलनामा कट्टर र फरक हुने भएकोले पनि दरको चलन यही एउटा व्रतमा मात्रै चलेको हो ।

पोषणको हिसाबमा दरको परिकार
सामान्यतया दरको रुपमा खाने परिकार भनेको दूध हालेर तयार पारिएको ढकनी, चाम्रे, कुरौंनी आदि हुन् । कसैले खिर खान्छन् भने कसैले ढकनी र चाम्रे खाने गर्छन् । पोषणविद्का अनुसार ‘परापूर्वकालदेखि दरको रुपमा जे खानेकुरा खाइन्थ्यो ती खानेकुराहरु अहिले पनि महिलाहरुको लागि एक्सपेन्सिभ र लक्जरियस खानेकुरामा गनिन्छ । जुन वैज्ञानिक हिसाबले पेटको स्वास्थ्यलाई ध्यान दिएर तयार पारिएका परिकारहरु हुन् ।

जस्तो सुरुमा घिउ र दूधको परिकार खाइन्छ, त्यसले पाचन प्रणालीमा समस्या निम्त्याउन सक्ने भएकोले अन्तिममा दही खाएर पाचन प्रक्रिया सवल बनाउने गरिन्छ । जुन घिउ र दूधबाट बनेको ढकनी लगायतका खानेकुराहरु छन्, त्यसले सिंगै एकदिनभरका लागि मान्छेलाई तागत दिने शक्ति राख्छ त्यसैले पनि दरको रुपमा बढी दूधजन्य खानेकुरा खाने गरिएको पाइन्छ ।

प्रतिक्रिया