काठमाडौं। बहुविवाहलाई कानुनी मान्यता दिने गरी तयार पारिएको अपराध संहिता संशोधन विधेयकको मस्यौदाप्रति राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालले तीव्र विरोध जनाउँदै सरकारलाई आन्दोलनको चेतावनी दिएको छ।
संगठनकी केन्द्रीय अध्यक्ष सुनिता कुरुम्बाङद्वारा हस्ताक्षरित ज्ञापन–पत्रमा कानून मन्त्रालयले संहिताको दफा १७५ मा प्रस्तावित संशोधनलाई “समाजमा बहुविवाहलाई वैधता दिने दुस्साहस” को रूपमा उल्लेख गरिएको छ। उक्त मस्यौदामा “कुनै महिला गर्भवती भए वा बच्चा जन्मिएको भए पहिलो श्रीमती भए पनि दोस्रो सम्बन्ध विवाहमा परिणत हुन सक्ने” भन्ने प्रावधान राखिएको भन्दै संगठनले गम्भीर आपत्ति जनाएको हो।
ज्ञापन–पत्रमा भनिएको छ, “यस प्रकारको मस्यौदा वर्तमान कानुनी व्यवस्थाविपरित छ र यसले महिलामाथि थप हिंसा, उत्पीडन र सामाजिक विभाजन निम्त्याउँछ।” संगठनले स्पष्ट रूपमा भनेको छ कि यदि मस्यौदाको प्रक्रिया तत्काल रोकिएन भने राष्ट्रव्यापी आन्दोलनको घोषणा गरिनेछ।
संगठनले महिलाहरू पहिलेदेखि नै समाजमा विविध प्रकारका हिंसा र विभेदको सिकार भइरहेका अवस्थामा बहुविवाहलाई कानुनी जामा पहिर्याउने कोसिसले सामाजिक सद्भावमा गम्भीर असर पार्ने जनाएको छ।
संगठन प्रमुख सुनिता कुरुम्बाङ्ग लगायत सदस्यहरुले मन्त्रालयमा प्रत्यक्ष पुगी कानुन न्याय तथा संसदीय मामिला मन्त्री माननीय अजय कुमार चौरसिया समक्ष ज्ञापन पत्र समेत बुझाएका छन्।
प्रतिक्रिया