पर्वत । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न भएको अभियोगमा तीनजनालाई झन्डै ७६ लाख रुपैयाँ सहित पक्राउ गरेको छ।
यसबारेमा जानकारी दिन आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले अमेरिकी डलर, युरो र नेपाली रुपैयाँ गरी नेपाली ७५ लाख ९६ हजार नौ सय रुपैयाँ बराबरका नोट बरामद गरिएको बताए।
पक्राउ परेकाहरूमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ हाटबजार घर भई रूपन्देही र कास्कीमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आइरहेका ४५ वर्षीय महुमुद्दिन एम अहमद, झापाको दमक नगरपालिका–४ चियादोकान घर भई पोखरा महानगरपालिका–६ बैदाममा ‘हिलारी मनी चेन्जर’ सञ्चालन गर्दै आएका राजकुमार बुढाथोकी र पोखरा महानगरपालिका–१९ पुरनचौर घर भई बैदाममा ‘सगरमाथा मनी चेन्जर’ सञ्चालन गर्दै आइरहेका ४३ वर्षीय खेमराज पौडेल रहेका छन्।
उनीहरूका साथबाट अमेरिकी डलर एक सय दरको नोट १९६ वटा, युरो पाँच सय दरको तीनवटा, युरो दुई सय दरका आठवटा, युरो एक सय दरको नोट एउटा, नेपाली रुपैयाँ एक हजार दरको नोट चार हजार ३७३ वटा र एक सय रुपैयाँ दरको नोट सात वटा बरामद भएका छन्।
शनिवार साँझ करिब पाँच बजेको समयमा पोखरा महानगर–१७ पार्दी बिरौटामा अवैध रूपमा विदेशी विनिमय कारोबार भइरहेको भन्ने सूचना गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रतिक्रिया