ए ङाला ह्राङबा माया’ को च्यारिटीमा पोखियो तामाङ चलचित्र संघको विवाद

evccfn@gmail.com' rastriyakhabar
३० असार २०८२, सोमबार २२:२३

काठमाडौं । तामाङ चलचित्र संघभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । नेपाल चलचित्र विकास बोर्डको हलमा आयोजित तामाङ चलचित्र ‘ए ङाला ह्राङबा माया’ को च्यारिटी शो को अवसरमा संघका अध्यक्ष दीपक लामाको आरोप प्रत्यारोपले हल नै स्तब्ध बनाएको थियो । संघका अध्यक्ष दीपक लामाले चलचित्र क्षेत्रभित्र भूगोलको आधारमा मनमुटाव रहेको आरोप लगाउँदै भने, “नुवाकोट र काभ्रे क्षेत्रका कलाकारबीच आपसी सहयोगको अभाव छ, चलचित्र बनाउन चाहने कलाकारलाई पनि क्षेत्रको आधारमा सहयोग नदिने प्रवृत्ति बढ्दै गएको छ ।” उनले केही समयअघि पत्रकारले सोधेको प्रश्नमा चलचित्र संघकी उपाध्यक्ष सुनिता लुङ्बाले अग्रज कलाकारको नाम नलिएर अपमान गरेको आरोप पनि लगाए ।

“पत्रकारले सोधेको प्रश्नमा ‘थाहा छैन’ भन्नु हुँदैन, बोल्न चाहन्न भने हुन्छ, नत्र अग्रजहरूको अपमान हुन्छ,” उनले स्पष्ट शब्दमा आलोचना गरे । उनको उक्त भनाइले हलमा चिसोपन फैलिएको थियो । कार्यक्रम सञ्चालिका समेत रहेकी सुनिता लुङ्बाले अध्यक्ष लामालाई जवाफ दिँदै भनिन्, “उहाँको मन्तव्य कम, रिस र डाहा बढी’ झल्किएको देखियो। यस्ता व्यक्तिगत र आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक कार्यक्रममा व्यक्त गर्नु कलाकारिता क्षेत्रको हितमा हुँदैन ।” पत्रकारहरुसँगको कुराकानीमा नाम नबताउने सर्तमा संघभित्रकै एक सदस्यले अध्यक्ष लामाको विगत र वर्तमान कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।

ती सदस्यका अनुसार, “दीपक लामाले विगतमा समाजलाई अपज हुने खालका अश्लील चलचित्र बनाउँदै आएका थिए । उनलाई अध्यक्ष बनाउनु हुँदैन भन्ने बहुमत धारणा हुँदाहुँदै पनि केही स्वार्थ समूहको कारण नेतृत्वमा ल्याइयो ।” पत्रकारहरूसँगको उनको व्यवहारसमेत विगतदेखि नै विवादास्पद रहँदै आएको बताइन्छ । तामाङ पत्रकार संघका अनुसार, अध्यक्ष निर्वाचित भएपछि लामाले पत्रकारहरूप्रति गरेको तुच्छ टिप्पणीका कारण केही तामाङ पत्रकारहरूले संघका केन्द्रीय कार्यक्रमहरू बहिस्कार गर्दै आएका छन् ।

“कार्यक्रमको जानकारी नदिने, फेसबुक पोस्टमार्फत बोलाउने, पत्रकार नआएमा उल्टै टिप्पणी गर्ने उहाँको शैलीले संस्थाको इज्जत झन घटेको छ,” एक पत्रकारले बताए । संघ भित्रकै सदस्यहरूले भनेका छन्, “अध्यक्ष लामा जे पायो त्योही फिल्म बनाउने प्रवृत्तिका व्यक्ति हुन् । अहिले संस्थाको नेतृत्वमा आएपछि पनि जे पायो त्यो प्रतिक्रिया दिन थाल्नुभएको छ, जसले गर्दा हामी सदस्यहरू समेत हैरान भएका छौं ।” यही च्यारिटी शोमा देखिएको मतभेदले तामाङ चलचित्र क्षेत्रको आन्तरिक एकता र भविष्यमा गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ ।

एक तामाङ चलचित्र निर्माताले तामाङ चलचित्र संघले चलचित्र प्रदर्शनमा सहजिकरण गर्नुको सट्टा झनै अप्ठ्यारो बनाइरहेको गुनासो गरे। उनले भने, “हामी थोरै बजेटमा जसोतसो चलचित्र बनाउँछौं, तर संघसँग नजिक भएका व्यक्तिहरूले विभिन्न कानुनी बहाना देखाएर बारम्बार अप्ठ्यारो बनाइरहेका छन्।

सहयोग नगरे पनि असहयोग नगरे सुनमा सुगन्ध हुने थियो। अहिलेको नेतृत्वसँग आफ्नै कुनै स्पष्ट कार्ययोजना छैन, अरूको कुरा काट्दै मात्र अघि बढिरहेको छ।”

प्रतिक्रिया