आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०८२, शुक्रबार ०५:३४

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि २८ अर्ब १२ करोड ५७ लाख २१ हजार बजेट पारित गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत सो बजेट पारित गरेको हो।

उक्त बजेट चालू आर्थिक वर्षको तुलनामा ७ दशमलव ४८ प्रतिशतले बढी हो। बजेटमा त्रिविको आन्तरिक स्रोतबाट ४९ दशमलव ३९ (१३ अर्ब ८८ करोड ९३ लाख) र नेपाल सरकारबाट ५० दशमलव ६१ प्रतिशत (१४ अर्ब २३ करोड ६३ लाख) प्रस्ताव गरिएको छ।
बजेटले समयसापेक्ष बजारमुखी नयाँ विषयको अध्यापन तथा अनुसन्धान सुरु गर्ने र विद्यमान पाठ्यक्रमको परिमार्जन गर्ने नीतिलाई प्राथमिकता दिएको छ।

बैठकले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीहरुसहितको ६३औँ ग्रेसलिष्ट पारित पनि गरेको छ। नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले कार्यभार सम्हालेको भोलिपल्ट यो पहिलो सिनेट बैठक भएको हो।

प्रतिक्रिया