फ्लाइटमा यात्रा गर्दै हुनुहुन्छ– ‘यी पाँच किसिमका लुगा कहिल्यै नलगाउनु होस्’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०८२, बुधबार ०५:३३

काठमाडौं । यदि तपाईँ चाँडै कुनै यात्राका लागि विमान चढ्दै हुनुहुन्छ भने यो जानकारी अत्यन्तै महत्वपूर्ण हुन सक्छ ।

कोपेनहेगनकी एक अनुभवी एयर होस्टेस तथा सामाजिक सञ्जालमा लोकप्रिय कन्टेन्ट क्रिएटर सिल रिडेलले हवाई यात्राको क्रममा लगाउन नहुने पाँच प्रकारका लुगाबारे चेतावनी दिएकी छिन् ।

उनले भनेकी छिन्– ‘कतिपय लुगा जहाजको वातावरणमा केवल असहज मात्र होइन, खतरनाकसमेत हुन सक्छन् ।’ सुरक्षा, सहजता तथा आपतकालीन परिस्थितिमा सजिलो हुने कुरा ध्यानमा राखेर उनले निम्न लिखित पाँच लुगाहरू विमानमा नलगाउन सल्लाह दिएकी छिन् ।

यात्रा गर्दा स्टाइल पनि महत्वपूर्ण हुन सक्छ, तर सिल रिडेलको सुझावमा स्पष्ट रूपमा के देखिन्छ भने विमान यात्रामा फेसनभन्दा बढी सुरक्षा र आरामलाई प्राथमिकता दिनु अनिवार्य छ । यात्राको अनुभवलाई सहज, सुरक्षित र सुखद बनाउनका लागि लुगा छनोटमा सजग हुनु आवश्यक छ ।

क्रप टप र सर्ट–प्यान्ट

सिलका अनुसार यी लुगा एयरपोर्टको गेटमा फेसनेबल देखिए पनि ३८ हजार फिटको उचाइमा रहेको प्लेनभित्र चिसो हावा पेट र तिघ्रामा सिधा लाग्छ । यसले शरीरलाई अत्यधिक असहज महसुस गराउँछ ।

फ्लिप–फ्लप चप्पल

समुन्द्री किनारका लागि उपयुक्त देखिने फ्लिप–फ्लप चप्पल विमान यात्रामा भने बाधक बन्न सक्छन् । आपतकालीन ल्यान्डिङ वा गेटसम्म दौडनु पर्ने अवस्था आउँदा यस्ता चप्पलले यात्रा झन् कठिन बनाउँछ । साथै, यात्राका क्रममा धेरैजसो मानिसले चप्पल खोलिदिएर नाङ्गो खुट्टा हिँड्ने प्रचलन छ, जुन स्वास्थ्य र सुरक्षाको दृष्टिकोणले अनुपयुक्त हो ।

सिन्थेटिक वा पोलिएस्टरका कपडा

सिलले सुझाव दिएकी छिन्– ‘हवाई यात्रामा राम्ररी सास फेर्न सकिने कपडा जस्तै कटन प्रयोग गर्नु उपयुक्त हुन्छ । पोलिएस्टर वा अन्य सिन्थेटिक कपडाहरू गर्मीमा शरीरमा टाँसिन सक्छन्, र यदि विमानमा आकस्मिक आगलागी भयो भने यस्ता कपडाले छालालाई गम्भीर रूपमा जलाउने खतरा रहन्छ ।

टाइट्स

सिलका अनुसार, टाइट्स पनि आगोमा सजिलै पोलिने खालका हुन्छन् र छालासँग टाँसिन्छन् । सम्भावित दुर्घटनाको अवस्थामा यसले यात्रुलाई अझ घातक स्थितिमा पुर्‍याउन सक्छ ।

धेरै टाइट वा स्ट्रेच नहुने कपडा

४८ हजारको उचाइमा शरीर सामान्यतया थोरै फुल्छ । जमिनमा फिट लाग्ने कपडाहरू विमानमा कसिलो लाग्न सक्छन् । त्यसैले, यात्राका लागि खुकुला, आरामदायी तथा सास फेर्न सकिने किसिमका कपडाहरू रोज्नु सबैभन्दा उपयुक्त हुन्छ ।

प्रतिक्रिया