काठमाडौं । सामान्यतया सार्वजनिक बिदा र शनिबारका दिन सरकारी कार्यालयहरू बन्द हुन्छन्, जनप्रतिनिधिहरू विश्राममै हुन्छन्। तर टोखा नगरपालिकामा भने यस्तो दृश्य फरक देखिन्छ। शनिबार बिदाको दिन पनि नगरप्रमुख प्रकाश अधिकारी र अन्य जनप्रतिनिधिहरू जनताको सेवामा खटिरहेका भेटिन्छन्।
टोखा नगरपालिकाले सञ्चालन गर्दै आएको नदी सरसफाइ अभियानले आज शनिबार ५७औँ हप्ता पूरा गरेको छ। नगरपालिकाको २०८१ वैशाख २० गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार हरेक शनिबार विष्णुमती, साङ्गलेखोला लगायतका नदीहरूको सरसफाइ नियमित हुँदै आएको छ।
नगरपालिकाको यो अभियानमा जनप्रतिनिधिहरू, नगर र वडा कार्यालयका कर्मचारी, स्वास्थ्य कार्यालय, सुरक्षा निकाय, महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक तथा संस्थागत विद्यालयहरू, क्लबहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा आम नागरिकको सहभागिता रहने गरेको छ।
शनिबार नगरप्रमुख प्रकाश अधिकारी आफैँ ८ र ११ वडाको सिमाना फ्लोरोसेन्ट स्कुलको गेटबाट ५०० मिटर पूर्वको सरसफाई कार्यक्रममा सहभागी हुनुभएको छ । नगरप्रमुख अधिकारीले सरसफाइ सबैको साझा अभियान भएकाले यसमा सम्पूर्ण नगरबासीको सहभागिता आवश्यक रहेको बताउनुभयो । शनिबार सातामा एक दिन सामाजिक कार्य र सरसफाइ अभियानमा सहभागी हुनु सचेत नागरिकको कर्तव्य हो, उहाँले स्वस्फूर्त रूपमा सहभागी हुन सबैमा आग्रह गर्नुभयो।
प्रतिक्रिया