काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–१० को आयोजनामा असार ४ गतेदेखि सञ्चालनमा रहेको “Summer Football Camp – Nutrition Diet (पोषण आहार) विषयमा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। क्याम्पमा सहभागि बालबालिकाहरुलाई पोषणविद् रस्मिता लामाले खेलाडीहरूको लागि आवश्यक सन्तुलित आहार, दैनिक भोजन तालिका, पानीको सेवन, प्रोटिन, कार्बोहाइड्रेट र भिटामिनयुक्त खाद्यपदार्थहरूको सन्तुलनबारे जानकारी दिइन्।
क्याम्पको मुख्य उद्देश्य बालबालिकालाई विद्यालयको गर्मी विदामा खेलकुद, स्वास्थ्य र अनुशासनको माध्यमबाट सशक्त बनाउने रहेको छ।
यस क्याम्पका प्रमुख मेन्टर पूर्व राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा प्रशिक्षक बिशाल श्रेष्ठ हुनुहुन्छ। उहाँको प्रत्यक्ष समन्वय र प्रशिक्षणमा बालबालिकाले आधारभूत फुटबल सीपदेखि लिएर नेतृत्व क्षमता, टीमवर्क र अनुशासनमा समेत प्रशिक्षण लिइरहेका छन्।
अहिलेसम्म सम्पन्न भएका मुख्य गतिविधिहरू:
1. क्याम्प उद्घाटन:असार ४ गते नगर प्रमुख मिठाराम अधिकारिको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सम्पन्न।
2. दैनिक अभ्यास: बिहान ६:०० देखि ८:०० सम्म नियमित फुटबल प्रशिक्षण जारी।
3. फुटबल मूलभूत सीप विकास: पासिङ, ड्रिब्लिङ, शुटिङ, डिफेन्स, गोलकिपिङ लगायतका शारीरिक अभ्यासहरू।
4. विशेष प्रेरणादायी भेटघाट: असार ५ गते पूर्व राष्ट्रिय कप्तान बिराज महर्जनको आगमन, बालबालिकासँग प्रेरणादायी संवाद।
5. Nutrition Diet Training: असार १० गते पोषणविद् रस्मिता लामाबाट स्वस्थ खेलाडी जीवनशैलीबारे व्याख्यान।
वडाध्यक्ष नवराज भट्टराईका अनुसार, “हामीले खेलकुदमार्फत बालबालिकाको आत्मविश्वास, स्वास्थ्य र अनुशासन विकासलाई केन्द्रमा राखेर यो क्याम्प सञ्चालन गरेका हौं। यहाँ बालबालिका सिक्दैछन्, खेल्दैछन् र सँगसँगै जीवनपाठ पनि बुझ्दैछन्।”
यस क्याम्पमा सहभागी बालबालिकाले दैनिक फुटबल प्रशिक्षणसँगै नेतृत्व, सहकार्य र जीवनपद्धतिका विभिन्न पक्षहरूमा समेत सिकाइ गरिरहेका छन्। क्याम्पलाई अझ प्रभावकारी बनाउन आगामी हप्ता फिजिकल फिटनेस, बालमैत्री मनोविज्ञान, तथा Mini Tournament को समेत आयोजना गरिने तयारी भइरहेको वडाले जनाएको छ । समर क्याम्प कपन ह्यान्डबल बहुउद्देश्यिय खेल मैदान, आकाशेधारामा यहि असार १४ गते सम्म सन्चालन हुनेछ ।
प्रतिक्रिया