आश्वासन

evccfn@gmail.com' rastriyakhabar
३० जेष्ठ २०८२, बिहीबार २३:४२

लघु कथा
सुरज क्षेत्री
एका बिहानै कान्छो के के सोचेर पिँढीको डिलमा बसेर परार साल किनेको मोबाईल चलाउँदै थियो ।
यतिबेला सम्म पनि भान्साबाट धुवाँ नआएपछि उ जुरुक्क उठेर भित्र पसेर चामलको भुल्टुङ खोलेर हेर्छ र केहि नबोली बाहिर निस्कन्छ ।
ढोकामा श्रीमति संग जम्का भेट हुन्छ । कान्छाले श्रीमती संग बोल्ने आँट गर्दैन । चुपचाप आफ्नो बाटो लाग्छ । अलिपर पुगेर सबै गोजि छाम्न थाल्छ । जम्मा जम्मि खल्तिबाट ४० रुपैयाँ निस्कन्छ ।
त्यो ४० रुपैयाँ हातमा लिएर कान्छो सोच्न थाल्छ “ यो ४० रुपैयाँले आधा के जि चामल आउँछ ,आजको छाक त टर्लानी ” फेरी अर्को मनले सोच्छ “ ति दाई संग अलिकति पैसा लिनु छ यो पैसाले गाडी भाडा तिरेर त्यहाँ सम्म पुगे भने त उनले दिएको पैसाले १ बोरा चामलनै किनौला नी बरु ” एकछिन सोच मग्न हुन्छ कान्छो ।
यसो मोबाईल झिकेर फोन लगाउँछ ति दाई लाई , उताबाट हुन्छ आउ न भन्ने संकेत आउँछ ।
कान्छो गाडी चढेर दाईको अफिस पुग्छ । तातो चिसो के लिउँ भन्दै दाईले कान्छालाई राम्रै स्वागत गर्छन् । कान्छो पनि आफ्नो समस्या समाधान हुने भो भनेर मख्ख पर्छ ।
त्यति बेला सम्म खाना खाने बेला हुन्छ । दाईले कान्छालाई लगेर होटलमा राम्रै संग खाना खुवाउँछन् । कान्छो दाई संगै बसेर दिन बिताउँछ । दाईको अफिसको काम सकिन्छ । घर जानु अगाडी संगै खाजा खाने सल्लाह हुन्छ । त्यतिबेला सम्म कान्छाले आफ्नो समस्याको बारेमा दाईलाई फेरी दोहोर्याएर भन्न सकेको हुँदैन ।
बिहान भनेछु भनेर कान्छो ढुक्क हुन्छ । होटलमा बसेर कान्छो र दाई दुवै जनाले टन्न खाजा तथा मदिरा सेवन गर्छन् । मदिराले मातेर ठिक्क भएपछि कान्छाले अब घर जाने बेला भयो निस्कुम् भनेर दाईलाई भन्छ । होटलको बिल तिरेर दुवै जना बाहिर निस्कन्छन् ।
कान्छो दाई संग छुट्टिने बेला हुन्छ तर दाईले पैसा दिने छाँट काँट गर्दैनन् । उसले न्याउरो अनुहार लगाएर दाई संग “ दाई मैले बिहान भनेको थिएँ नी ” भनेर सम्झाउँछ ।
दाईले त्यो कुरालाई सिरियस नै नलिईकन सामान्य रुपमा जवाफ फर्काउँछन् “ दिउँसै भन्नु पर्दैन , अब आज त छैन म संग भएको पनि सबै सकियो ” कान्छो रातो पिरो हुन्छ । केहि बोल्न सक्दैन । दाई मोटर साईकल स्टार्ट गरेर “ ल म लागेँ भोली तिर भेटौंला ” भन्दै हुईकिन्छन् ।
कान्छालाई अघि खाएको मदिरा पानी सबैले एकै पटक छोडे झैँ हुन्छ । थचक्क भैंमा बसौं झैं हुन्छ । तैपनि सम्हालिएर सार्वजानिक गाडी लाग्ने ठाउँ सम्म पुग्छ र डेरा सम्म पुग्ने गाडी चढ्छ ।
डेरामा पुग्दा रात परिसकेको हुन्छ । बच्चाहरु सुति सकेका हुन्छन् । श्रीमति रिसाएर कान्छालाई हेर्दै घरको अवस्था के छ भन्ने थाहा पाउँदा पाउँदै पनि फेरी धोकेर आयौ है ? कान्छो के बोल्न खोज्दै थियो श्रीमतिले रोक्दै “भो नबोल अब तिम्रा सब काहानी सुनेको बर्षौ भई सक्यो । अब यो घरमा कि तिमि रहँदैनौ कि म रहन्न ” कान्छो सुनिमात्र रहन्छ । केहि बोल्दैन ।
बिहानको नास्ता देखि बेलुकाको मदिरा सम्मको पैसा जोड्ने हो भने उसले झण्डै एक महिनाको लागि रासन पुग्ने पैसाको खाएको थियो । त्यो सम्झदै कान्छाले आफैले आफैंलाई धिकार्न थाल्यो ।
त्यो सब उसको आफ्नै कारण भएको होईन भनेर बुझ्ने त्यहाँ कोहि थिएन । उ एकै छिन टोलायो । फेरी एकपटक चामलको भुल्टुङ चेक गर्न गयो । सबै जना मस्त निन्द्रामा थिए । कान्छोलाई आफ्नै जिवन देखि पश्चताप लाग्न थाल्यो । खै के के सोच्यो कुन्नि त्यहि भुल्टुङ माथि चढेर एउटा डोरी दलिनमा बाँध्यो र घाँटीमा पासो लगाएर घर्याक्क भुल्टुङ पल्टायो एकै छिन छट्पटायो अनि सधैको लागि निदायो ।
खैला बैला भयो , प्रहरी आयो लास उठायो ,पोष्टमार्टम गर्न हस्पिटल तिर लग्यो । हिजो सम्म कि तँ छैन कि म छैन भन्ने श्रीमति छाति पिटी पिटी रुन थालि । ति अबोध बच्चाहरुलाई त के थाहा नतमस्तकनै थिए । सबैतिर हल्ला फैलियो । साथिभाई ईष्ट मित्र सबै जम्मा भए ।
फेसबुकका भित्ताहरुमा फोटो खोजि खोजि समवेदना र श्रद्धान्जलीहरु देखिन थाले । पहिलो श्रद्धान्जली तिनै दाईको थियो । लेखेका थिए“यस्तो गलत निर्णय किन गर्यौ भाई ,बरु केहि समस्या थियो भने मलाई भनेको भए हुन्थ्यो नी ” ।

प्रतिक्रिया