काठमाडौं । देशभरका सहरमा पछिल्ला तीन दिनयता अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिएको छ। जल तथा मौसम विज्ञान विभाग को तथ्याङ्कअनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम बढ्दो क्रममा रहेको छ।
राजधानी काठमाडौं मा फागुन २६ गते अधिकतम तापक्रम २०–२२ डिग्री सेल्सियस रहेकोमा शनिबार बढेर २४ डिग्री पुगेको थियो। बिहीबार मध्यान्हसम्म भने तापक्रम २५.४ डिग्री सेल्सियस पुगेको छ। आज राति न्यूनतम तापक्रम भने १५–१७ डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरिएको छ।
यसैगरी मध्यान्हसम्म सबैभन्दा बढी सिराहा र बाँके मा अधिकतम तापक्रम ३१.१ डिग्री सेल्सियस पुगेको छ। सोही समयमा मनाङ हुम्दे विमानस्थल मा भने अधिकतम तापक्रम ३.२ डिग्री सेल्सियस रहेको छ।
आज विराटनगर मा ३१–३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ भने नेपालगञ्ज मा ३०–३२ डिग्री सेल्सियस आसपास रहने सम्भावना रहेको छ।
पोखरा मा आज २६–२८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। हिमाली क्षेत्रतर्फ जुम्ला मा २३–२५ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने देखिएको छ भने जोमसोम मा १७–१९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
समग्रमा आगामी तीन दिनसम्म देशका अधिकांश सहरमा दिउँसोको तापक्रम क्रमशः बढ्ने तथा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ।
विभागका मौसमविद् सञ्जीव अधिकारी का अनुसार हाल देशका अधिकांश स्थानमा मौसम सफा रहेको छ। उनले भने, “हावाको आर्द्रता बढेसँगै तापक्रममा पनि वृद्धि भएको छ। आगामी दिनहरूमा देशभर क्रमशः तापक्रम बढ्दै जाने सम्भावना रहेको छ।”
प्रतिक्रिया