काठमाडौं । स्वास्थ्य बिमा बोर्ड ले उपचारका लागि आएका बीमितलाई अस्पतालबाहिरबाट औषधि खरिद नगराउन सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
बोर्डका सूचना अधिकारी विकेश मल्ल ले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिरका औषधि पसलबाट औषधि तथा औषधिजन्य सामग्री खरिद गर्न नलगाउन निर्देशन दिइएको जानकारी दिए।
उनका अनुसार केही स्वास्थ्य संस्थाले प्याकेजअन्तर्गत हुने उपचारका क्रममा बिरामीलाई बाहिरबाट औषधि खरिद गर्न लगाएको गुनासो आएपछि यस्तो निर्देशन जारी गरिएको हो।
“केही अस्पतालले बीमितलाई उपचार गरेपछि बाहिर औषधि खरिद गर्न लगाएको गुनासो आएको छ,” उनले भने, “त्यसैले बीमितलाई बाहिरबाट औषधि खरिद गर्न नलगाउन सबै अस्पताललाई परिपत्र गरिएको हो।”
सूचना अधिकारी मल्लका अनुसार कतिपय अस्पतालले बिमा सेवाअन्तर्गत पर्ने औषधि तथा औषधिजन्य सामग्री अस्पतालभित्र उपलब्ध नगराई बिरामीलाई बाहिरका औषधि पसलबाट नगदमा किन्न लगाउने गरेका छन्।
यसरी बिरामीलाई बाहिरबाट औषधि खरिद गर्न लगाउनु स्वास्थ्य बिमा ऐन २०७५, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधिविपरीत हुने बोर्डले जनाएको छ। त्यस्तो कार्य गर्ने अस्पताललाई स्वास्थ्य बिमा नियमावली २०७५ को नियम १८ को उपनियम (१) को खण्ड (क) अनुसार कारबाही गरिने पनि बोर्डले स्पष्ट पारेको छ।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच सदस्यसम्मको परिवारका लागि ३ हजार ५०० रुपैयाँ योगदानमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। थप सदस्यका लागि प्रतिव्यक्ति ७०० रुपैयाँका दरले योगदान रकम बढ्दै जाने र प्रति सदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ।











प्रतिक्रिया