सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परे युनुस, ५ दिन म्याद थप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ जेष्ठ २०८२, सोमबार ०५:५४

काठमाडौं । नख्खु कारागारबाट मुक्त भएलगत्तै पक्राउ परेका युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पाँच दिनको म्याद थप भएको छ ।

नक्कली भारतीय नोटको कारोबारको मुद्दामा दोषी ठहर भई नख्खु कारागार चलान भएका उनी शनिबार साँझ मुक्त भएका थिए । लगत्तै उनलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो।

आज उनलाई अदालतमा उपस्थित गराइएको र अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको सीआईबीका एसएसपी होमिन्द्र बोगटीले जानकारी दिए ।

२०७६ जेठ १० मा युनुससहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबाट ७ करोड ७६ लाख नक्कली भारु नोट बरामद भएको थियो ।

कतारबाट काठमाडौं आउने तीन पाकिस्तानी नागरिकहरुमा राहदानी नम्बर एए १२४५४९४ वाहक ४९ वर्षीय मोहम्मद अख्तर, एआर २४०६४३२ वाहक ६७ वर्षीय नासिर उद्दिन र राहदानी नं. सीएन १८१२०३२ वाहक ३९ वर्षीय नादिया अनवर पक्राउ परेका थिए । उनीहरु कराँचीबाट कतार हुँदै नेपाल आएका थिए ।

यीनै तीन जना पाकिस्तानी नागरिकलाई लिन पुगेका युनुससँगै रौतहटको बैरिया–१ का सुबल खान र भक्तपुरको बालकोटका रानाभाट पक्राउ परेका थिए ।

यो घटनामा उनलाई दोषी ठहर गर्दै ६ वर्ष कैद ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो । ६ वर्ष कैद भुक्तान गरेर हिजो शनिबार मात्रै छुटेका थिए । लगत्तै सीआईबीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया