काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सोमबार विशेष अदालतमा दायर गरिएको उक्त मुद्दामा तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली, पुतलीसडकस्थित म्याक्स इन्टरनेशनल प्रालि र त्यसका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेनलाई पनि प्रतिवादी बनाइएको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सूचना प्रविधि केन्द्रबाट विभिन्न उपकरण खरिद गर्दा करिब ५ करोड ५९ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको पाइएपछि सो मुद्दा दायर गरिएको हो।
अनुसन्धानका क्रममा केन्द्रले करिब २६ करोड २९ लाख रुपैयाँ लागत अनुमान तयार गरी बोलपत्र आह्वान गरेको थियो। म्याक्स इन्टरनेशनलले पेश गरेको प्रस्ताव अनुसार २ करोड ६५ लाख र अर्को शिर्षकमा ३ करोड १४ लाख रुपैयाँ (भ्याट बाहेक) भुक्तानी गरिएको देखिएको छ।
तर आयोगको भनाइमा, लागत अनुमान तयारीदेखि सम्झौता कार्यान्वयनसम्मकै प्रक्रिया मिलेमतोमा गरिएको, स्वार्थ बाझिने गरी अनुमान बनाइएको, कार्य नभएको अवस्थामा पनि भुक्तानी दिइएको, र सरकारी निकायलाई आर्थिक हानि पुर्याइएको प्रमाणित भएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता राजेन्द्र पौडेलका अनुसार सबै प्रतिवादीविरुद्ध ५ करोड ७९ लाख रुपैयाँ बराबरको विगो दाबी सहित भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
यो मुद्दा सुनिल पौडेलविरुद्ध दायर गरिएको दोस्रो भ्रष्टाचार मुद्दा हो।
प्रतिक्रिया