‘गोप्य मोबाइल’ हल्ला निराधार : सरकारद्वारा स्पष्टिकरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०८३, आईतवार ०६:२५

काठमाडौं । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर उपलब्ध गराइएको भन्ने हल्ला पूर्ण रूपमा निराधार भएको स्पष्ट पारेको छ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरू तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले छुट्टै मोबाइल सेट वा सिम कार्ड वितरण गरिएको भन्ने दाबी अस्वीकार गरेका हुन्।

राजनीतिक सल्लाहकार शाहका अनुसार सरकारसँग समन्वयका लागि विद्यमान औपचारिक संरचना नै पर्याप्त रहेको छ। “प्रधानमन्त्री र मन्त्रीहरूबीच सम्पर्कका लागि छुट्टै मोबाइल सेट वा सिम वितरण गरिएको भन्ने कुरा गलत र भ्रामक हो,” उनले भने, “प्रधानमन्त्री नियमित रूपमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालयमै उपलब्ध हुनुहुन्छ र आवश्यक परे प्रत्यक्ष छलफलमार्फत समन्वय हुँदै आएको छ।”

उनका अनुसार गोपनीयता कायम गर्न कार्यालयभित्रै आवश्यक ‘प्रोटोकल’ लागू हुने भएकाले अतिरिक्त उपकरणको आवश्यकता छैन।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पनि छुट्टै ‘गोप्य’ सञ्चार प्रणाली बनाउने कुनै निर्णय नभएको स्पष्ट पारे। उनले मन्त्रीहरूबीच समन्वय मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्री कार्यालय र सचिवालयमार्फत हुने गरेको जानकारी दिए।

परराष्ट्रमन्त्री शिशिर खनालले यस्तो सूचना भ्रामक भएको भन्दै अफवाह नफैलाउन आग्रह गरे। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रीहरूले आ–आफ्नै फोन प्रयोग गरिरहेको र सरकारी संयन्त्रमा कुनै अभाव नरहेको बताए।

त्यस्तै भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल र कानुनमन्त्री सोविता गौतमले पनि यस्तो दाबीलाई अस्वीकार गर्दै पत्रकारिताका नाममा भ्रामक सूचना नफैलाउन आग्रह गरेका छन्।

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र सङ्घीय मामिला मन्त्री प्रतिभा रावलले समेत आफूहरू आफ्नै नम्बर प्रयोग गर्दै आएको र प्रधानमन्त्रीसँग त्यही माध्यमबाट सम्पर्क हुने गरेको स्पष्ट पारेका छन्।

सरकारले यस्ता अपुष्ट सूचनाले जनमानसमा भ्रम फैलाउने भएकाले तथ्यमा आधारित समाचार मात्रै सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply