पक्राउ पर्न सकेनन् २५ करोड तस्करीका मालिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०८१, शुक्रबार ०६:५७

काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन तस्करी गर्न लगिँदै गरेको २५ करोड रुपियाँको मुख्य मालिक पहिचान गरी पक्राउ गर्न प्रहरीलाई पत्राचार गरे पनि ती व्यक्तिलाई पक्राउ गर्न प्रहरीले सफलता हासिल गर्न सकेको छैन ।

विभागका अनुसन्धान अधिकृतको दुई सातासम्मको सूक्ष्म अनुसन्धानले सो रकमको मालिक सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका ४ स्थायी घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका १० महादेवटार बस्दै आइरहेका नारायण पौडेल रहेको तथ्य औंल्याएका थिए । यसरी २५ करोड तस्करीका मुख्य मालिक पहिचान भएपछि राजस्व अनुसन्धान विभागले उनलाई पक्राउ गरी बुझाइदिन भन्दै गत १७ चैत्रमा प्रहरीलाई पत्राचार गरेको थियो । तर, विभागले पत्राचार गरेको झण्डै दुई साता पुग्न लाग्दा पनि पौडेललाई पक्राउ गर्न प्रहरी असफल हुँदै आएको छ ।

२५ करोड तस्करीका मालिक पौडेल माओवादी केन्द्रका केही नेताहरूको संरक्षणमा रहेकाले पक्राउ गर्न कठिन भएको हुन सक्ने स्रोतको दाबी छ । स्रोतका अनुसार पौडेल नेपाल बाहिर रहेको र भारतका विभिन्न ठाउँमा लुकेर बसेको सूचनाहरू प्राप्त भए पनि भारतबाट पक्राउ गरेर ल्याउनसमेत प्रहरीले खासै तदारुकता देखाउन सकेको छैन ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले गत चैत्र ४ गते काठमाडौंको उत्तर भेगमा पर्ने टोखा नगरपालिका २ झोरमा २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपियाँ बराबरको डलर र युरो बरामद गरेको थियो । प्रहरीले ना ७ ख १६५२ नम्बरको ट्रकमा राखेर लैजान लागिएको सो रकम बरामद गर्नुका साथै रकम लिएर जान लागेका ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामालाई पक्राउ गरेको थियो ।

त्यसपछि प्रहरीले बरामद भएको रकम, ट्रक र चालकलाई गत चैत्र ५ गते नै थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो । राजस्व अनुसन्धान विभागले मुख्य मालिक पहिचान गरे पनि पक्राउ हुन नसकेकाले मुद्दा लैजान केही ढिलाइ भएको छ ।

विभागले २५ करोड तस्करीका मुख्य मालिक पौडेल रहेको पहिचान गरे पनि उनीसँग कनेक्सनमा रहेका व्यक्तिहरूको बारेमा भने खोजतलास गर्न सकेको छैन । मुख्य मालिक पक्राउ परेमा उनीसँगको सम्बन्धमा रहेका अन्य व्यक्तिहरू पनि पहिचान हुन सक्ने विभागका अनुसन्धान अधिकृतहरूको भनाइ छ ।

प्रतिक्रिया

slot gacor