चौथो वृत्ति तथा रोजगार मेला फाल्गुण २ र ३ गते आयोजना गर्दै बुढानीलकण्ठ नगरपालिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ माघ २०८१, बुधबार ०७:४७

२०७८ सालदेखि श्रृखलाबद्ध रुपमा वृत्ति तथा रोजगार मेला आयोजना गर्दै आइरहेको बुढानीलकण्ठ नगरपालिकाले यहि फाल्गुण २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्न गइरहेको छ । शिक्षा, सीप र उमशिलता रोजगारी हाम्रो प्राथमिकता भन्ने नारा सहित चौथो वृत्ति मेला आयोजना गर्न गइरहेको यस नगरपालिकाले यसपालीको मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकतामा राखेको छ ।

पहिलोदेखी तेस्रो वृत्ति मेलामा समेत रोजगारी र युवा तथा विद्यार्थी वृत्ति परामर्शलाई प्राथमिकतामा राखिएको थियो । यस अघिका तिन वटै वृत्ति तथा रोजगार मेलामा वेरोजगार युवाहरुको तथ्यांक संकलन गरिएको थियो । तथ्यांक संकलनका क्रममा वेरोजगार युवाहरुले लिन चाहेको रोजगारमूलक तालिमको माग संकलन समेत गरिएको थियो । उक्त माग बमोजिम यहि वृत्ति तथा रोजगार कार्यक्रम अन्तर्गत २० जनालाई सिनियर १० महिने पलम्बरिङ, ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको छ । यसै गरी १२ वटै सामुदायिक माद्यमिक विद्यालयमा विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको छ । स्वचालित रुपमा वेरोजगार युवाहरुको सीप र अनुभव सहितको विवरण अनलाईन मार्फत (लिङ्क) भर्ने र सोबाट रोजगार प्रदायकले आफूलाई आवश्यक जनशक्ति छनौट गरी रोजगार प्रदान गर्न सक्ने गरी स्वचालित रोजगार प्रणाली सञ्चालनमा ल्याईएको छ । यस अघि सम्पन्न तीन वटै वृत्ति तथा रोजगार मेला विद्यार्थी युवा र गृहणी महिलाहरुको आकर्षणको केन्द्र बनेको आम अनुभूति रहन गएको छ ।

यस पूर्वका वृत्ति तथा रोजगार मेलाको सफलताबाट उद्धेलित बुढानीलकण्ठ नगरपालिकाले चौथो वृत्ति तथा रोजगारमेलालाई अझ विशेष बनाउन नगर प्रमुख मिठाराम अधिकारी संयोजक र उपप्रमुख अनिता लामा सहसंयोजक रहने गरी मूल आयोजक समिति बनाएर तयारी कार्यक्रम अघि बढाएको छ । मूल आयोजक समितिमा नगर स्तरीय उद्योग बाणिज्य संघलाई समेत मूल आयोजक समितिमा समावेश गरेर निजी क्षेत्रको मेलामा स्व:तस्फूर्त सहभागितालाई प्रोत्साहन गरिएको छ ।

मेलामा कम्तिमा १० जना भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका उद्यमहरुलाई स्टल राख्न दिने व्यवस्था गरिएको छ । मेलामा कुल ४८ वटा स्टल रहने र उक्त ४८ स्टल मध्ये २८ वटा रोजगारदाता, ६ वटा सीप तथा तालिम प्रदायक, ३ वटा उन्नयनशील युवा उद्यम, ६ वटा रमाइलो शुक्रबार प्रबर्द्धक र बाँकी ५ वटा विविध विषयका स्टलहरु रहने वताइएको छ ।

यस चौथो वृत्ति तथा रोजगार मेलामा २५ हजार भन्दा वढी युवा तथा विद्यार्थी लगायतले भिजिट गर्ने मेला अवधिमा दर्जनौ बेरोजगार युवाहरुले रोजगारी प्राप्त गर्ने विश्वास आयोजकले लिएको देखिन्छ । मेलामा विशेष आकर्षणको रुपमा १४० जना कामको खोजीमा रहेका बेरोजगार युवाहरुलाई साइकोमेट्रिक टेष्ट मार्फत वृत्ति पहिचान गरिने र २५० जना युवाहरुलाई वृत्ति पहिचानका लागि डिजिटल प्रविधि (साइकोमेट्रिक सेवा) सम्बन्धी जानकारी प्रदान गरिने कार्यक्रम राखिएको छ । साथै मेला अवधिमा कम्तिमा ५० जना युवाहरुलाई एकल तथा ४०० जना युवाहरुलाई सामुहिक वृत्ति तथा रोजगार परामर्श प्रदान गरिने कार्यक्रम राखिएको आयोजकले बताएको छ ।

मेलालाई पूर्ण रुपमा सफल बनाउन विभिन्न उपसिमिति निर्माण गरी क्रियाशील गर्नुका साथै नगरपालिका भित्रका वेरोजगार युवाहरुलाई यस मेला मार्फत दिगो रोजगारमा जोड्ने अभिष्ट राखी बेरोजगार युवाहरुको तथ्यांक संकलन कार्यलाई समेत यस वर्ष पनि निरन्तरता दिएको देखिन्छ । यस नगरपालिकामा स्थायी वसोबास गर्ने १६ वर्षदेखी ४० वर्षसम्मका बेरोजगार युवालाई यहि माघ २५ गते भित्र अनलाइन मार्फत वा सम्बन्धित वडा कार्यालयमा गएर फर्म भर्न नगरपालिकाले आव्हान गरेको छ ।

 

प्रतिक्रिया

slot gacor