धनगढी । टीकापुर नगर विकास समितिको जग्गा घोटाला प्रकरणमा विशेष अदालतले ८७ जनालाई दोषी ठहर गरेकाे छ ।
टीकापुरको सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम भएको भ्रष्टाचार मुद्दामा बिहीबार विशेष अदालतले ८७ जनालाई दोषी ठहर गरेको हो ।
विशेष अदालतले गरेकाे फैसला अनुसार पदाधिकारी र कर्मचारी समेत ११ जना तथा जग्गा खरिद गर्ने प्रथम पक्ष समेतका ७६ जनालाई गरी कूल ८७ जनालाई दोषी ठहर गरेको हो ।
त्यसैगरी व्यक्तिको नाममा कायम भएको जग्गा जफत हुने फैसला भएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार यस्तो फैसला गरेको हो ।
फैसलामा उल्लेख भए अनुसार गणेश सिंह रावल तथा निजको संयोजकत्वमा गठित उपसमितिका सदस्यहरु श्याम खत्री, बमबहादुर बम, देवेन्द्र बहादुर कुँवर, पदमराज न्यौपाने, खडग बहादुर शाह एवम् उक्त समितिका सदस्यसचिव अम्वादत्त जोसी, योजना प्रमुख वलबहादुर कडायत, नापी अधिकृत मान बहादुर चन्द, मालपोत अधिकृत जयबहादुर विष्टले माथि उल्लिखित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) (ज) बमोजिमको कसूर गरेको प्रमाणित हुन आयो।
फैसलामा उल्लेख छ – अतः सो कसूरमा निज प्रतिवादीहरुमध्ये कसूरको मुख्य भूमिकामा रहेका प्रतिवादी नेत्र प्रसाद जोसी र गणेश सिंह रावललाई जनही १ वर्ष ६ महिना कैद र विगोको दामासाहीले जनही रु.१३,०७,३००/४५ (रु. तेह लाख सात हजार तीन सय रुपैयाँ पैतालिस पैसा) जरिवाना हुने ठहर्छ।
टिकापुर विकास समितिका अध्यक्ष प्रतिवादी नेत्र प्रसाद जोसीलाई उक्त ऐनको दफा २४ बमोजिम ३ महिना थप कैद समेत हुने ठहर्छ। अन्य प्रतिवादीहरु श्याम खत्री, वम बहादुर बम, देवेन्द्र कुँवर, पदमराज न्यौपाने, खडक बहादुर शाह, अम्वादत्त जोसी, वल वहादुर कडायत, मान बहादुर चन्द र जय बहादुर विष्टलाई कसूरमा निजहरुको भूमिका समेतलाई विचार गरी जनही ३ महिना कैद र बिगोको दामासाहीले जनही रु.१३,०७,३००/४५ (रु.तेह लाख सात हजार तीन सय रुपैयाँ पैतालिस पैसा) जरिवाना हुने ठहर्छ।
टीकापुरमा नक्कली कागजातहरू खडा गरी सार्वजनिक जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षअघि मुद्दा दायर गरेको थियो ।
टीकापुर नगर विकास समितिका पदाधिकारीहरू कर्मचारीहरू र जग्गाधनी गरी २४९ जना विरुद्ध मुद्दा दायर गरिएकोमा ८७ जना बाहेक बाँकीले सफाइ पाएका छन् ।
टीकापुरको झन्डै ७ बिघा सार्वजनिक जग्गा हिनामिना भएको थियो । टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेत २४९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २६ गते ६ बिघा १९ कठ्ठा १० धुर जग्गा हिनामिना गरेको कसुरमा मुद्दा दायर गरेकाे थियाे ।
प्रतिक्रिया