मधेस सरकार विस्तारमा ढिलाइ, शीर्ष नेतासँग छलफल गर्न मुख्यमन्त्री यादव काठमाडौं जाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०८३, शुक्रबार ०५:४६

जनकपुरधाम। मधेस प्रदेश सरकार गठन भएको पाँच दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। प्रदेशको राजनीतिक समीकरण र मन्त्रालय बाँडफाँटको टुंगो केन्द्रीय तहमा हुने शीर्ष नेताहरूको छलफलपछि मात्र लाग्ने देखिएको छ।

नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न राजनीतिक दलका केन्द्रीय शीर्ष नेताहरूसँग छलफल गरेपछि मात्रै सरकार विस्तार गर्ने बताएका छन्।

राष्ट्रिय समाचार समिति (रासस) सँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले सरकार विस्तारको गृहकार्यका लागि आफू छिट्टै काठमाडौं जान लागेको जानकारी दिए। प्रदेशस्तरमा मात्रै सहमति जुटाउन कठिन भएकाले केन्द्रीय नेतृत्वको विश्वास लिन आवश्यक रहेको उनको भनाइ छ।

“केही दिनभित्रै काठमाडौं जान्छु। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका दलका शीर्ष नेतालाई भेटेर छलफल गर्छु, अनि मात्र सरकार विस्तार गर्छु,” मुख्यमन्त्री यादवले भने।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई सरकारमा सहभागी गराएर सर्वदलीय सरकार बनाउने आफ्नो चाहना रहेको उनले बताएका छन्। १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक छ।

संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका यादवले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

यसअघि मंसिर ५ गते मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

शपथ लिएलगत्तै सानो आकारको मन्त्रिपरिषद् गठन भए पनि महत्त्वपूर्ण मन्त्रालयहरूको बाँडफाँट हुन सकेको छैन। सत्ता साझेदार दलहरूबीच मन्त्रालयको संख्या र नेतृत्वका विषयमा सहमति जुट्न नसक्दा सरकार विस्तारमा ढिलाइ भएको हो।

मुख्यमन्त्री यादवको काठमाडौं भ्रमण र शीर्ष नेताहरूसँगको छलफलले मधेस सरकारको आगामी स्वरूप तय गर्ने अपेक्षा गरिएको छ। सर्वदलीय सहमति जुटे आगामी साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउन सक्ने सम्भावना रहे पनि शक्ति सन्तुलन र विश्वासको मत सुनिश्चित गर्नु सरकार विस्तारको मुख्य चुनौती देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor