पार्टीको संस्थागत निर्णयबिना राजीनामा नदिने मुख्यमन्त्री कार्कीको अडान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०८३, बिहीबार ०६:४९

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजीनामा मागेपछि दबाबमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्काल पद नछाड्ने अडान लिएका छन्।

सत्ता साझेदार नेकपाका नेताहरूसँग मंगलबार भएको छलफलमा मुख्यमन्त्री कार्कीले पार्टीले संस्थागत निर्णय नगरेसम्म राजीनामा नदिने बताएका हुन्।

छलफलमा नेकपाका नेताहरूले पनि कार्कीलाई तत्काल राजीनामा नदिन र वर्तमान सरकारलाई निरन्तरता दिन सुझाव दिएका छन्। तर, एमालेको आन्तरिक विवादका कारण सरकार परिवर्तन गर्नुपर्ने अवस्था आए त्यसको साक्षी नबस्ने नेकपाले स्पष्ट पारेको छ।

नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेको आन्तरिक विवादका कारण सरकार परिवर्तन गर्नुपर्ने भए नेकपाकै नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने बताए।

नेकपा कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङले चुनावको मुखमा सरकार परिवर्तन गर्दा अस्थिरताको सन्देश जाने भएकाले वर्तमान सरकारलाई नै निरन्तरता दिनुपर्ने पार्टीको धारणा रहेको बताए। उनले सरकार परिवर्तन गर्न खोजिए नेकपाले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने स्पष्ट पारे।

एमाले अध्यक्ष ओली भने कार्कीलाई हटाएर सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहन्छन्। तर, संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको सरकार भएकाले कार्कीलाई हटाउन सहज छैन। उनले संसद्बाट हालै विश्वासको मतसमेत लिएका छन्।

यसअघि एमाले संस्थापन पक्षले कार्कीलाई संसदीय दलको नेताबाट हटाउन सांसदहरूको हस्ताक्षर संकलन गरेको थियो। बहुमत नपुग्ने देखिएपछि उक्त प्रयास अघि बढ्न सकेन। एमाले सचिवालयका अधिकांश नेता पनि कार्कीलाई तत्काल हटाउने पक्षमा नरहेको बताइएको छ।

मुख्यमन्त्री कार्कीले अध्यक्ष ओलीको निर्देशनभन्दा पार्टीको संस्थागत निर्णयलाई प्राथमिकता दिँदै आएका छन्। ओली, कोशी प्रदेश इन्चार्ज शेरधन राईलगायतका नेता भने उनलाई पदबाट हटाउने पक्षमा छन्।

मुख्यमन्त्री निकट एक सांसदले जबर्जस्ती कार्कीलाई हटाउन खोजिए एमाले संसदीय दलभित्र विद्रोह हुन सक्ने चेतावनी दिएका छन्। धारा १६८ को उपधारा ५ अन्तर्गतको सरकारमा पार्टीको ह्विप लागू नहुने भएकाले कार्की पक्षका १५ सांसदले नेकपालाई समर्थन गर्न सक्ने सम्भावना रहेको उनले बताए।

मंगलबारको छलफलमा नेकपाबाट प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, आङ्बो र नेम्वाङ सहभागी थिए। एमालेबाट मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेप र सांसद रेवतीरमण भण्डारी सहभागी थिए।

गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा ओली पराजित भएपछि उनी र मुख्यमन्त्री कार्कीबीचको सम्बन्ध चिसिएको थियो। त्यसपछि ओलीले कार्कीलाई हटाएर लिम्बू समुदायका नेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने प्रयास थालेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor