दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०८३, बिहीबार ०६:४७

काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। अदालतको आदेशसँगै डा. मनोजकुमार केसीले नेपाल प्रहरीको आईजीपीका रूपमा निरन्तरता पाउने भएका छन्।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो।

यद्यपि अदालतले मुद्दाको अन्तिम सुनुवाइ छिटो गर्न निर्देशनात्मक आदेश दिएको छ। लिखित जवाफ परेको वा त्यसका लागि तोकिएको अवधि समाप्त भएको सात दिनभित्र अन्तिम सुनुवाइका लागि पेसी चढाउन र तोकिएको पेसी स्थगित नगर्न इजलासले आदेश दिएको छ।

गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। सोही बैठकले डा. केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। सरकारको निर्णयविरुद्ध कार्कीले उत्प्रेषणको आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

अन्तरिम आदेश नदिनुका तीन आधार

अदालतले अन्तरिम आदेश जारी नगर्नुका पछाडि तीन मुख्य आधार प्रस्तुत गरेको छ।

पहिलो, सरकारको निर्णयअनुसार डा. केसी आईजीपीमा नियुक्त भई कार्यभार सम्हालिसकेको अवस्था छ। नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेर काम सुरु गरिसकेकाले अन्तरिम आदेशमार्फत तत्काल पुरानै अवस्था कायम गर्नुपर्ने नदेखिएको अदालतको ठहर छ।

दोस्रो, प्रहरी संगठनको नेतृत्व र कमान्ड प्रणाली देशको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय हो। यस्तो अवस्थामा अन्तरिम आदेशमार्फत संगठनको नेतृत्वमा तत्काल हस्तक्षेप गर्दा पर्न सक्ने प्रभावलाई अदालतले विचार गरेको छ।

तेस्रो, कार्कीले रिटमा उठाएका कानुनी प्रश्नहरू प्रारम्भिक सुनुवाइबाटै निरूपण गर्न सकिने प्रकृतिका नभई अन्तिम सुनुवाइबाट टुंग्याउनुपर्ने अदालतको निष्कर्ष छ।

यी आधार र सुविधाको सन्तुलनसमेत विचार गर्दा तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको इजलासले जनाएको छ।

अन्तरिम आदेश नदिए पनि अदालतले मुद्दालाई लामो समयसम्म विचाराधीन नराख्न स्पष्ट निर्देशन दिएको छ। प्रहरी संगठनको नेतृत्व, कमान्ड प्रणाली र राज्यको शान्ति सुरक्षासँग सम्बन्धित विषय भएकाले यसको संवेदनशीलतालाई ध्यानमा राखी शीघ्र अन्तिम निर्णय गर्नुपर्ने अदालतले औँल्याएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor