काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा निर्धारित ३० कार्यलक्ष्यमध्ये १० वटा मात्रै सम्पन्न गरेको छ। बाँकी कार्यलक्ष्य पुस मसान्तभित्र पूरा गर्न मन्त्री रामजी यादवले सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्।
मन्त्रालयमा बुधबार आयोजित प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री यादवले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर उपलब्ध गराउने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए।
उनले निर्धारित लक्ष्य पूरा गर्न आवश्यक बजेट माग गरेर भए पनि समयमै काम सम्पन्न गर्न र बेरुजु फर्छ्योटलाई तीव्रता दिन आग्रह गरे।
राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश मल्लले पहिलो त्रैमासिकमा सम्पन्न हुन नसकेका कार्यक्रम आगामी त्रैमासिकमा पूरा गर्नुपर्नेमा जोड दिए।
मन्त्रालयका सचिव डा. दीपक काफ्लेले सीपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखिएको बताए। मन्त्रालयका कुल कार्यलक्ष्यमध्ये ३३.३३ प्रतिशत सम्पन्न भएको र ६६.६७ प्रतिशत बाँकी रहेको समीक्षा बैठकमा जानकारी दिइयो।
बैठकमा राष्ट्रिय युवा ऐन जारी गर्न कानुन मन्त्रालयमा सहमतिका लागि मस्यौदा पठाइएको तथा युवा दृष्टिकोण २०४० को मस्यौदा तयार गरिएको जानकारी दिइएको थियो।
त्यस्तै, एक हजार २०० जनाको सीप परीक्षणका लागि समझदारी भएको र ६३ जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरिएको प्रगति विवरणमा उल्लेख छ।
प्रतिक्रिया