काठमाडौं । नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्सको अध्यक्षमा प्रज्वलजंग पाण्डे चयन भएका छन्। बुधबार राजधानीमा सम्पन्न चेम्बरको चौथो साधारणसभाले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिको मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ र निवर्तमान अध्यक्षमा मुकुन्दप्रसाद तिमिल्सिना रहेका छन्। वरिष्ठ उपाध्यक्षमा विश्वेश श्रेष्ठ तथा उपाध्यक्षमा सुजीत शाक्य र शक्तिकुमार बेगानी चयन भएका छन्।
त्यस्तै, महासचिवमा सीताराम थापा, कोषाध्यक्षमा नीतु कयाल तथा सचिवमा स्कन्द अमात्य र नीलकृष्ण ताम्राकार चयन भएका छन्।
कार्यसमिति सदस्यमा दिपेन्द्र सिग्देल, उरुषा चापागाईं, भरत श्रेष्ठ, प्रकाशविक्रम खत्री, शिव ढकाल, उत्तम सिवाल, चेतन भण्डारी, राजेश लामा, सोफिया उपाध्याय, सञ्जीवकुमार पाण्डे, गोर्मेटे दोर्जे श्रेष्ठ, उद्धव बर्तौला, आस्मा पौड्याल, निरज तिमिल्सिना, दिपेन्द्र श्रेष्ठ, राकेश अडुकिया, अग्रिम कार्की, श्याम कँडेल र तोरिशा जी रहेका छन्।
नवनिर्वाचित कार्यसमितिले नेपाल र फिनल्यान्डबीच व्यापार, लगानी, पर्यटन तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्ने लक्ष्य लिएको छ। नेपाली वस्तुको निर्यात प्रवर्द्धन, नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने र दुवै देशका व्यवसायीबीच प्रत्यक्ष सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखिएको छ।
साधारणसभामा अध्यक्ष पाण्डेले नेपाल र फिनल्यान्डबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारमा चेम्बरले पुलको काम गर्ने बताए। चेम्बरलाई औपचारिक संवादमा मात्र सीमित नराखी व्यावसायिक सहकार्य र परिणाममुखी गतिविधिको साझा मञ्च बनाउने उनको भनाइ थियो।
उनले नेपाली उत्पादनलाई फिनल्यान्डको बजारसम्म पुर्याउन निर्यात प्रवर्द्धनमा जोड दिँदै फिनल्यान्डको प्रविधि, नवप्रवर्तन र दिगोपनसम्बन्धी अनुभवलाई नेपालको प्राकृतिक स्रोत तथा उत्पादन क्षमतासँग जोड्न सके दुवै देशले लाभ लिन सक्ने बताए।
कार्यक्रममा नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काले नेपालमा लगानी विस्तार र पर्यटन प्रवर्द्धनका लागि दुई देशबीच सहकार्य आवश्यक रहेको बताए। उनले शैक्षिक क्षेत्रमा भइरहेको सहकार्यलाई अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्नेमा जोड दिए।
नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष तथा नेपाल–फिनल्यान्ड चेम्बरका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठले द्विराष्ट्रिय उद्योग वाणिज्य संघमार्फत व्यापारिक सहकार्यसँगै कूटनीतिक सम्बन्ध विस्तारमा पनि योगदान पुर्याउन सकिने बताए। उनले हरित अर्थतन्त्रको विकासमा नेपालले फिनल्यान्डबाट धेरै कुरा सिक्न सक्ने धारणा राखे।
कार्यक्रममा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि तथा निजी क्षेत्रका व्यवसायीहरूको उपस्थिति थियो।
प्रतिक्रिया