शीघ्र वीर्य स्खलनको समस्या कसरी नियन्त्रण गर्ने ? यस्ता छन् उपयोगी उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०८३, बिहीबार ०६:४०

काठमाडौं । पुरुषहरूमा देखिने सामान्य यौनसम्बन्धी समस्यामध्ये शीघ्र वीर्य स्खलन पनि एक हो। यौनसम्पर्कका क्रममा आफू र आफ्नो यौनसाथीले चाहेको समयभन्दा चाँडै वीर्य स्खलन हुनु, त्यसलाई नियन्त्रण गर्न नसक्नु र यसले यौनजीवनमा असन्तुष्टि तथा तनाव सिर्जना गर्नु शीघ्र स्खलनको अवस्था हो।

यो समस्या लाज मान्नुपर्ने विषय होइन। तनाव, यौनसम्पादनसम्बन्धी चिन्ता, सम्बन्धमा हुने असहजता तथा केही शारीरिक कारणले पनि यस्तो समस्या देखिन सक्छ। उचित अभ्यास, जीवनशैलीमा सुधार र आवश्यक परे चिकित्सकीय उपचारबाट यसलाई नियन्त्रण गर्न सकिन्छ।

शीघ्र स्खलन नियन्त्रण गर्न अपनाउन सकिने केही उपयोगी उपाय यस्ता छन् :

१. रोक्ने र सुरु गर्ने अभ्यास

यौनसम्पर्कका क्रममा वीर्य स्खलन हुन लागेको महसुस भएपछि केही समय रोक्नुहोस्। उत्तेजना कम भएपछि पुनः यौनक्रिया सुरु गर्नुहोस्। यही प्रक्रिया दोहोर्‍याउँदा स्खलन नियन्त्रण गर्ने क्षमता बढाउन मद्दत पुग्न सक्छ।

२. कन्डम प्रयोग गर्ने

कन्डम प्रयोग गर्दा लिङ्गको संवेदनशीलता केही कम हुन सक्छ। बाक्लो कन्डमले केही पुरुषमा वीर्य स्खलन ढिलो गराउन सहयोग पुर्‍याउन सक्छ।

३. पाक्क्रीडामा पर्याप्त समय दिने

यौनसम्पर्कलाई लिङ्ग प्रवेश र वीर्य स्खलनमा मात्र सीमित गर्नु हुँदैन। चुम्बन, स्पर्श, सुमसुम्याउने तथा साथीको रुचिअनुसार अन्य यौन क्रियाकलापमा समय दिनुपर्छ। महिलाको यौनसन्तुष्टिका लागि भगांकुरको उत्तेजना पनि महत्त्वपूर्ण हुन्छ।

४. सास र तनाव नियन्त्रण गर्ने

यौनसम्पर्कका क्रममा चाँडै वीर्य स्खलन हुन्छ कि भन्ने डर र चिन्ताले समस्या थप बढाउन सक्छ। त्यसैले हतार नगरी सहज वातावरणमा यौनसम्पर्क गर्नुपर्छ। गहिरो सास लिने र शरीरलाई शान्त राख्ने अभ्यासले तनाव कम गर्न मद्दत गर्छ।

५. पेल्भिक फ्लोर मांसपेशीको अभ्यास गर्ने

पिसाब रोक्न प्रयोग हुने मांसपेशीलाई केही समय संकुचन गर्ने र त्यसपछि छाड्ने अभ्यासलाई नियमित रूपमा गर्न सकिन्छ। यसले पेल्भिक फ्लोर मांसपेशी बलियो बनाउन मद्दत गर्छ। तर पिसाब गरिरहेको समयमा बारम्बार रोकेर यो अभ्यास गर्नु हुँदैन।

६. औषधि प्रयोग गर्दा चिकित्सकको सल्लाह लिने

लिडोकेन वा प्रिलोकाइन भएका केही स्प्रे तथा क्रिमले लिङ्गको संवेदनशीलता कम गरी स्खलन ढिलो गराउन सक्छन्। तर यस्ता औषधि प्रयोग गर्दा सही मात्रा र तरिका अपनाउनुपर्छ। औषधि यौनसाथीमा सरेर उनको संवेदनशीलता पनि कम हुन सक्ने भएकाले चिकित्सकको सल्लाह आवश्यक हुन्छ।

केही अवस्थामा चिकित्सकले स्खलन नियन्त्रणका लागि औषधि पनि दिन सक्छन्। आफूखुसी औषधि सेवन गर्नु हुँदैन।

७. यौनसाथीसँग खुलेर कुराकानी गर्ने

शीघ्र स्खलनको समस्या समाधानमा आपसी समझदारी महत्त्वपूर्ण हुन्छ। आफूलाई लागेको समस्या यौनसाथीसँग खुलेर छलफल गर्नुपर्छ। एकअर्कालाई दोष दिनुभन्दा दुवैको इच्छा, सहजता र सन्तुष्टिलाई प्राथमिकता दिनुपर्छ।

कहिले चिकित्सकलाई भेट्ने ?

अधिकांश यौनसम्पर्कमा आफूले चाहेको समयभन्दा चाँडै वीर्य स्खलन हुने, नियन्त्रण गर्न नसकिने र यसले व्यक्तिगत जीवन वा सम्बन्धमा तनाव सिर्जना गर्ने अवस्था छ भने युरोलोजिस्ट वा यौन स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुपर्छ। पहिले यस्तो समस्या नभएको तर पछिल्लो समय अचानक सुरु भएको अवस्थामा पनि चिकित्सकीय जाँच आवश्यक हुन सक्छ।

शीघ्र वीर्य स्खलन सामान्य र उपचार गर्न सकिने समस्या हो। अनावश्यक चिन्ता नगरी उचित अभ्यास, आपसी समझदारी र आवश्यक चिकित्सकीय सहयोग लिनु नै यसको समाधानको राम्रो उपाय हो।

प्रतिक्रिया

Leave a Reply

slot gacor