काठमाडौं । विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत समयमै पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमा ‘सेल ब्रोडकास्ट प्रणाली’ को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ।
सोमबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, गृह मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा नेपाल टेलिकमले नियन्त्रित वातावरणमा प्रणालीको परीक्षण गरेको हो। परीक्षणका क्रममा तोकिएका मोबाइल उपकरणमा ‘यो परीक्षण सन्देश हो’ भन्ने सूचना सफलतापूर्वक पठाइएको गृह मन्त्रालयले जनाएको छ।
यस प्रणालीमार्फत विपद्को जोखिममा रहेका निश्चित भौगोलिक क्षेत्रका मोबाइल प्रयोगकर्तालाई एकैपटक पूर्वसूचना पठाउन सकिन्छ। विशेषगरी बाढी, पहिरोजस्ता प्राकृतिक विपद्का बेला नागरिकलाई समयमै सचेत गराउन र आवश्यक सुरक्षा सतर्कता अपनाउन यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
२ जी नेटवर्कमा गरिएको प्रारम्भिक परीक्षण सफल भएपछि थप प्राविधिक परीक्षण र तयारी पूरा गरी बाढीको उच्च जोखिममा रहेका विभिन्न क्षेत्रमा प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया