काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँग भैरहवाको हवाई मार्ग नेपाल भित्रिन र बाहिरिन दुवैतर्फ प्रयोग गर्न पाउने सहमति भएको बताएका छन्।
दुई दिने भारत भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यसअघि नेपालबाट बाहिर जान मात्रै प्रयोग गर्न मिल्ने भैरहवाको हवाई मार्ग अब नेपाल प्रवेशका लागि पनि प्रयोग गर्न पाउने समझदारी बनेको जानकारी दिए।
उनका अनुसार दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार भैरहवाको हवाई मार्गलाई दुईतर्फी प्रयोग गर्न सकिने भएको हो। तर, सहमति कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, भारतका सम्बन्धित निकाय र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) लगायतसँग समन्वय गरी प्राविधिक प्रक्रिया पूरा गर्नुपर्नेछ।
मन्त्री खनालले भारतको बागडोगरा विमानस्थल सञ्चालनका लागि नेपालको हवाई मार्ग प्रयोग गर्ने विषयमा भने कुनै सहमति नभएको स्पष्ट पारे। भारतले उक्त प्रयोजनका लागि नेपालको आकाश प्रयोग गर्न अनुमति मागेको भए पनि छलफल निष्कर्षमा नपुगेको उनले बताए। भैरहवाबाहेक अन्य कुनै हवाई मार्गका विषयमा पनि सहमति नभएको उनको भनाइ छ।
यसैगरी, नेपाल–भारतबीच रहेका सीमा विवाद समाधानका विषयमा दुवै देशका प्रधानमन्त्रीले परराष्ट्र सचिवस्तरीय संयुक्त बैठक गर्न निर्देशन दिएको मन्त्री खनालले जानकारी दिए। नेपालले सीमासम्बन्धी विवाद तथा अन्य असमझदारीलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न चाहेको उनले बताए।
प्रतिक्रिया