काठमाडौं । जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै सङ्गठनलाई जनस्तरसम्म विस्तार गर्ने उद्देश्यसहित नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय जनजागरण अभियान सुरु गरेको छ।
सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित अभियानको उद्घाटन समारोहमा पार्टीका नेता माधव सापकोटा ‘सुबोध’ले जनताको आवाज सुन्ने र उनीहरूका प्रश्नको जवाफ दिने संस्कार विकास गर्न नेता–कार्यकर्तालाई आग्रह गरे।
उनले वर्तमान राजनीतिक परिस्थिति जटिल बन्दै गएको उल्लेख गर्दै जनताका अपेक्षा र गुनासालाई बेवास्ता गरेर पार्टी अघि बढ्न नसक्ने बताए। पार्टीप्रति जनताको विश्वास बलियो बनाउन नेता–कार्यकर्ताले आफ्नो व्यवहार, कार्यशैली र जीवनशैलीमा सुधार ल्याउनुपर्ने उनको धारणा थियो।
सापकोटाले राजनीतिक प्रतिस्पर्धामा तथ्य, तर्क र प्रविधिको प्रयोग गर्दै सशक्त प्रतिवाद गर्नुपर्ने बताए। पार्टीको विचार र दृष्टिकोणलाई प्रभावकारी रूपमा जनतासमक्ष पुर्याउन परम्परागत प्रचारशैलीमा मात्र निर्भर हुन नहुने उनको भनाइ थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित पार्टीका केन्द्रीय सदस्य केशव नेपालले अभियानको राजनीतिक महत्त्वबारे धारणा राखेका थिए। त्यस्तै, युवानेता दीपेन्द्र रायमाझी, नेता श्रीकृष्ण अधिकारी ‘विवेक’, प्रदेशसभा सदस्य अमृता नेपाल र नेता ठुलोबाबु श्रेष्ठले पनि सम्बोधन गरेका थिए।
सम्पर्क समितिका अध्यक्ष तोकबहादुर गधराज ‘तोकेन्द्र’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव सिपी नेपालले कार्यक्रम सञ्चालन गरेका थिए। उपाध्यक्ष सुवास लामाले स्वागत मन्तव्य राखेका थिए भने इन्चार्ज महेशलाल श्रेष्ठले पार्टीको सर्कुलर वाचन गर्दै अभियानको कार्यदिशा र भावी योजनाबारे जानकारी गराएका थिए।
कार्यक्रममा विजय मोक्तान, टीएन सापकोटा, महेन्द्र घोरासैनी, महेशलाल श्रेष्ठ, विदुर चौलागाईंलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।
अभियानअन्तर्गत पार्टीले विभिन्न क्षेत्रमा नेता तथा कार्यकर्तालाई परिचालन गर्ने र जिम्मेवारीअनुसार कमान्डर तोकेर जनसम्पर्कका गतिविधि अघि बढाउने जनाएको छ।
पार्टीले यस अभियानलाई जनताका समस्या बुझ्ने, पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराउने, सङ्गठन विस्तार गर्ने र आगामी निर्वाचनका लागि आवश्यक राजनीतिक तयारी गर्ने अवसरका रूपमा लिएको छ।
प्रतिक्रिया