काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सङ्गठन विभाग प्रमुख वर्षमान पुनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक शक्ति सङ्घर्ष र कलहको उत्कर्षमा पुगेको दाबी गरेका छन्।
पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत दैलेखका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै पुनले रास्वपाभित्रको शक्ति सङ्घर्षका कारण राज्यका निकायहरू विभाजित र कमजोर बनेको आरोप लगाए।
राज्यका संयन्त्रलाई आफ्नो प्रभावमा पार्ने विषयमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच प्रतिस्पर्धा भइरहेको उनको दाबी छ। यसले राष्ट्रियता कमजोर बनाउनुका साथै स्थापित संस्थाहरूलाई लथालिङ्ग बनाएको पुनको आरोप छ।
उनले रास्वपाभित्रको विवाद कुनै पनि बेला गम्भीर अवस्थामा पुग्न सक्ने भन्दै प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई थुन्ने वा लामिछानेले प्रधानमन्त्री शाहलाई पदबाट हटाउने अवस्था आउन सक्ने बताए।
पुनले भने, ‘कुनै पनि बेला बालेनले रविलाई थुनेमा आश्चर्य नमाने हुन्छ। कुनै बेला रविले प्रधानमन्त्री हटाएमा पनि आश्चर्य हुनेछैन।’
वर्तमान सरकार भारतसँग लम्पसार परेको आरोप लगाउँदै पुनले सरकारको गतिविधि संविधान र वर्तमान व्यवस्था खारेज गरी प्रतिक्रान्तिको दिशातर्फ उन्मुख रहेको जिकिर गरे।
त्यस्तो कदम रोक्न र राष्ट्रियता सुदृढ बनाउन वामपन्थी शक्तिबीच एकता तथा संविधान पक्षधर लोकतान्त्रिक दलहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
प्रतिक्रिया