काठमाडौं । विश्व शान्ति, मानव कल्याण, देशको समृद्धि र सबैको प्रगतिको कामना गर्दै चाबहिलस्थित चारुमति बुद्ध विहारमा बुद्ध पूजा गरिएको छ।
विहारद्वारा आयोजित धार्मिक कार्यक्रममा बौद्ध धर्मावलम्बीहरूले मङ्गलध्वनिका साथ विधिपूर्वक महापरित्राण पाठ गरी बुद्ध पूजा गरेका हुन्।
कार्यक्रममा चारुमति बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले महानगरभित्र रहेका प्राचीन सम्पदा र संस्कृतिले अन्तर्राष्ट्रिय परिवेशमा नेपालको विशिष्ट पहिचान कायम गरेको बताए। मानव सभ्यतासँग जोडिएका यस्ता सम्पदाले नेपालको गौरव बढाएकाले तिनको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
नेपाल बुद्धको जन्मस्थल भए पनि बौद्ध साहित्य र दर्शनको अध्ययन तथा प्रवर्द्धन पर्याप्त हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे। बौद्ध साहित्य र दर्शनका माध्यमबाट राज्यको मूलधारमा आउन नसकेका गरिब तथा निमुखा वर्गको सामाजिक विकासमा जोड दिनुपर्ने पनि उनले बताए।
यसैबीच, काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित करिब दुई हजार तीन सय वर्ष पुरानो बौद्ध चैत्य ‘धन्दो चैत्य’ को स्थानीय तहबाट रङरोगन तथा संरक्षणको काम सुरु गरिएको छ।
भिक्षु तपस्सी धम्मले भिक्षु दीक्षा लिएको ३३ वर्ष पूरा भएको अवसरमा कष्ट परिकारको चिवर दानसमेत गरिएको छ। उनी अन्तर्राष्ट्रिय युवा बौद्ध संघका केन्द्रीय उपाध्यक्षसमेत हुन्।
कार्यक्रममा बौद्ध साहित्य तथा दर्शनको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएका वरिष्ठ समाजसेवी बाबुकाजी श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो।
प्रतिक्रिया