काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानरत मुद्दासँग सम्बन्धित अप्रमाणित सूचना तथा सामग्री सार्वजनिक नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
बुधबार जारी प्रेस विज्ञप्तिमा नेपाल सरकार वादी र इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धान प्रभावित हुने गरी विभिन्न सञ्चारमाध्यममा समाचार तथा सामग्री प्रकाशित भएकोप्रति प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरीका अनुसार केही सञ्चारमाध्यमले अनुसन्धान अधिकारीको हवाला दिँदै मुद्दासँग असम्बन्धित मोबाइल लोकेसनलगायत अप्रमाणित विषयसमेत सार्वजनिक गरेका छन्।
प्रचलित कानुन, विधि र प्रक्रियाअनुसार मुद्दाको अनुसन्धान गोप्य रूपमा भइरहेको जनाउँदै प्रहरीले अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको स्पष्ट पारेको छ।
अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न प्रहरी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। अनुसन्धानको संवेदनशीलता र कानुनी व्यवस्थाविपरीतका सामग्री प्रकाशन वा प्रसारण भएमा कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत प्रहरीले दिएको छ।
मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री प्रकाशन वा प्रसारण गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भन्दै प्रहरीले आधिकारिकता पुष्टि गरेर मात्र सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा जारी विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो।
प्रतिक्रिया