काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पुनर्बहाली गर्नुपर्ने मागसहित दायर रिटमा सर्वोच्च अदालतले तत्काल अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ।
बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने माग किन पूरा नगर्ने हो भन्ने विषयमा विपक्षीबाट जवाफ मागिएको छ। अदालतको पूर्ण आदेश भने सार्वजनिक भइसकेको छैन।
सरकारले कात्तिक १८ गते कार्कीलाई आईजीपी पदबाट हटाएपछि उनले निर्णयविरुद्ध कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। आफूलाई पदबाट हटाउने सरकारी निर्णय गैरकानुनी भएको दाबी गर्दै उनले पुनर्बहालीको माग गरेका छन्।
उक्त रिटमाथि बुधबार पहिलोपटक सुनुवाइ भएको हो। सर्वोच्चले दुवै पक्षको छलफल र लिखित जवाफका आधारमा अन्तरिम आदेशबारे निर्णय गर्नेछ।
प्रतिक्रिया