संसद् अधिवेशन छिट्टै आह्वान गर्ने सरकारको तयारी, १६६ कानुन निर्माण तथा सुधारको लक्ष्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०८३, बिहीबार ०५:३३

काठमाडौं । सरकारले संसद्को आगामी अधिवेशन छिट्टै आह्वान गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन बोलाउने विषयमा छलफल भइरहेको र छिट्टै आह्वान गर्ने सरकारको लक्ष्य रहेको बताएकी छन्।

प्रधानमन्त्री वालेन्द्र शाह यसै साता भारत भ्रमणमा जाने कार्यक्रम रहेकाले अधिवेशन आह्वानको मिति तत्काल निश्चित गर्न नसकिएको मन्त्री गौतमले राससलाई जानकारी दिइन्। सरकारले आगामी अधिवेशनलाई लक्षित गर्दै नयाँ कानुन निर्माण, विद्यमान कानुन संशोधन तथा आवश्यक अध्यादेशबारे गृहकार्य गरिरहेको छ।

सरकारले घोषणा गरेको ‘कानुन निर्माण तथा सुधार वर्ष’ अन्तर्गत एक वर्षमा १६६ वटा कानुन निर्माण तथा सुधार गर्ने लक्ष्य राखेको छ। यसका लागि गठित सुधार समितिको प्रत्येक १५ दिनमा बैठक बस्ने गरेको र सबै मन्त्रालयबाट प्रगति विवरण प्राप्त भइरहेको मन्त्री गौतमले बताइन्। दसैँअघि संसद्मा दर्ता भएका विधेयकहरूको प्रगति हेर्दा लक्ष्य हासिल गर्न सकिने विश्वास बढेको उनको भनाइ छ।

संसद् सचिवालय पनि तयारीमा

संसद् अधिवेशन आह्वानको संवैधानिक प्रक्रिया सरकारको सिफारिसमा राष्ट्रपतिबाट अघि बढ्ने भए पनि संसद् सचिवालयले आवश्यक तयारी गरिरहेको जनाएको छ। सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नयाँ संसद् भवनको प्रतिनिधिसभा सभाकक्षको भौतिक पूर्वाधार तयार भए पनि प्रत्यक्ष प्रसारण, अडियो–भिडियो प्रणाली र नयाँ प्रविधिसम्बन्धी केही काम बाँकी छन्।

नयाँ सभाकक्षबाट युट्युबमार्फत प्रत्यक्ष प्रसारण गर्ने तयारी भइरहेको र त्यसका लागि प्राविधिक परीक्षण तथा सांसदहरूलाई अभिमुखीकरण आवश्यक पर्ने उनले बताए। अधिवेशन आह्वान भएपछि पनि तयारी पूरा गर्न दुई–चार दिन लाग्न सक्ने उनको भनाइ छ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा संघीय निजामतीसहित २४ वटा विधेयक विचाराधीन छन्। राष्ट्रिय सभाका समितिमा भने कुनै विधेयक विचाराधीन छैनन्। प्रतिनिधिसभाको दोस्रो र राष्ट्रिय सभाको २१औँ अधिवेशनका क्रममा हालसम्म १२ वटा विधेयक पारित भएका छन्। दोस्रो अधिवेशन अन्त्य भएयता संशोधन विधेयकसमेत गरी सातवटा नयाँ विधेयक दर्ता भएका छन्।

संसदीय समितिलाई सक्रिय बनाउने रास्वपाको तयारी

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी अधिवेशनलाई प्रभावकारी र परिणाममुखी बनाउन संसदीय समितिहरूलाई सक्रिय बनाउने तयारी गरेको छ।

रास्वपाका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले सरकारले प्रस्तुत गर्ने विधेयकमाथि संसदीय समितिमा व्यापक छलफल, अध्ययन, परामर्श र आवश्यक परिमार्जन गरेर अघि बढाइने बताए। संसद्को कार्यतालिकालाई आधार मानेर समितिहरूलाई प्रभावकारी बनाइने उनको भनाइ छ।

तत्काल अधिवेशन बोलाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलगायत दलले संसद् अधिवेशन तत्काल आह्वान गर्न माग गर्दै आएका छन्।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले तिहार र छठपछि संसद् आह्वान गर्ने विषयमा सभामुखको धारणा सकारात्मक रहेको उल्लेख गर्दै अधिवेशन यथाशीघ्र बोलाउनुपर्ने बताए।

कानुन निर्माणसँगै जनसरोकारका विषय उठाउने महत्वपूर्ण थलो संसद् भएकाले बैठक छिटो बस्नुपर्ने उनको भनाइ छ। उनले सरकारसँग आफ्नो दलको संवाद नभएको उल्लेख गर्दै संसद् बैठक तत्काल बोलाउनुपर्ने माग दोहोर्‍याएका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor