धनुषा। छठ पर्वको समापनसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच छलफल तीव्र बनेको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि सत्ता समीकरण, मुख्यमन्त्रीको नेतृत्व र मन्त्रालय बाँडफाँटबारे दलहरू सक्रिय भएका हुन्।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रयास भइरहेको छ। प्रारम्भिक छलफलमा जसपा नेपालले सरकारको नेतृत्व गर्ने र एमाले तथा नेकपाले समर्थन गर्ने गरी समीकरण बनाउने विषयमा संवाद अघि बढेको नेताहरूले बताएका छन्।
प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नदेखिएपछि मुख्यमन्त्री यादवले गत कात्तिक २८ गते राजीनामा दिएका थिए। एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संविधानअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्। दाबी पेस गर्ने समयसीमा मङ्सिर ४ गते अपराह्न ४ बजेसम्म तोकिएको छ।
नेकपाका नेता भरतकुमार साहले जसपा नेपालकै नेतृत्वमा सरकार गठन गर्ने तयारी भइरहेको बताए। संसदीय दलको नेता मुख्यमन्त्री बन्ने परिपाटी रहेकाले जसपाकै नेताको सम्भावना बलियो रहेको उनको भनाइ छ। यद्यपि, अन्य नेताहरूको पनि दाबी रहेको उनले बताए।
जसपा नेपालका नेता जीतेन्द्र सोनारले मुख्यमन्त्रीको उम्मेदवारबारे पार्टीभित्र औपचारिक छलफल भइरहेको तर निष्कर्षमा पुगिनसकेको जानकारी दिए। सरकार गठन र मन्त्रालय बाँडफाँटबारे अहिले नै केही भन्न नसकिने उनको भनाइ छ। एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले पनि तीन दलबीच अनौपचारिक छलफल भइरहेको र औपचारिक निर्णयका लागि थप संवाद आवश्यक रहेको बताए।
जसपा नेपालका नेता मनिषकुमार सुमनले प्रदेशसभामा आफ्नो पार्टीको सिट सङ्ख्या बढी रहेकाले सरकारको नेतृत्व गर्ने परिस्थिति बनेको बताए।
मधेस प्रदेशमा सरकार परिवर्तनको क्रम निरन्तर चल्दै आएको छ। प्रदेशसभाको पहिलो कार्यकालमा जसपा नेपालका लालबाबु राउतले २०७४ फागुन २ देखि २०७९ पुस २९ गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
दोस्रो कार्यकालमा जसपाका सरोजकुमार यादव २०७९ पुस २९ गते मुख्यमन्त्री बनेका थिए। विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी २०८१ जेठ २३ गते पदमुक्त भए। त्यसपछि जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री बने। उनले २०८२ असोज २८ गते राजीनामा दिएपछि तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीका जीतेन्द्र सोनारले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
सोनारले विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि राजीनामा दिएपछि एमालेका सरोजकुमार यादव मुख्यमन्त्री बने। उनले पनि विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था देखिएपछि राजीनामा दिए। त्यसपछि कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री बनेका थिए। उनले गत कात्तिक २८ गते राजीनामा दिएपछि प्रदेशमा पुनः सरकार गठनको प्रक्रिया अघि बढेको हो।
१०३ सदस्यीय मधेस प्रदेशसभामा उपलब्ध विवरणअनुसार जसपा नेपालका २७, एमालेका २३, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।
जसपा नेपाल, एमाले र नेकपाबीच प्रस्तावित समीकरण बनेमा उनीहरूको कुल सांसद सङ्ख्या ६५ पुग्छ। प्रदेशसभामा सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन दलहरूबीचको सहमति निर्णायक हुने देखिन्छ। नयाँ सरकारको नेतृत्व र मन्त्रालय बाँडफाँटबारे भने दलहरूबीच छलफल जारी छ।
प्रतिक्रिया