काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणका २८ खेल सम्पन्न भएसँगै प्लेअफ समीकरण पूरा भएको छ। पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् भने एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।
लिग चरणबाट विराटनगर किङ्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स बाहिरिएका छन्। सात खेलबाट पाँच जित, एक हार र एक खेलमा नतिजाविहीन हुँदै ११ अंक जोडेको लुम्बिनी पहिलो स्थानमा रह्यो। पाँच जित र दुई हारसहित १० अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा छ।
त्यस्तै, चार जित र तीन हारसहित आठ अंक जोडेको काठमाडौं गोर्खाज तेस्रो तथा तीन जित, तीन हार र एक खेलमा नतिजाविहीन हुँदै सात अंक जोडेको चितवन राइनोज चौथो स्थानमा रह्यो।
लुम्बिनीले प्रतियोगिताको सुरुवातमै सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै आफ्नो प्रभाव देखाएको थियो। काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित हुनुअघि लुम्बिनी अपराजित रहेको थियो। अन्तिम चरणमा विराटनगर किङ्सलाई चार विकेटले हराउँदै उसले शीर्ष स्थान सुरक्षित गर्यो।
सुरुवाती हारपछि लयमा फर्किएको सुदूरपश्चिमले पनि दोस्रो स्थान सुरक्षित गर्यो। कप्तान दीपेन्द्रसिंह ऐरीको प्रदर्शन टोलीका लागि महत्वपूर्ण रह्यो। काठमाडौंले मध्य चरणमा लगातार तीन खेल जित्दै प्लेअफको यात्रा बलियो बनाएको थियो भने चितवन उतारचढावपूर्ण प्रदर्शनका बाबजुद अन्तिम चारमा पुग्न सफल भयो।
तेस्रो संस्करणमा नयाँ खेलाडीको प्रदर्शनले पनि दर्शकको ध्यान खिच्यो। जनकपुर बोल्ट्सका १६ वर्षीय बलर राहुल यादवले सात खेलमा १२ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी बने। काठमाडौं गोर्खाजविरुद्ध ३१ रन दिएर चार विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन रह्यो।
त्यस्तै, चितवन राइनोजका रिजन ढकाल र कमल सिंह ऐरी तथा काठमाडौं गोर्खाजका जहानदाद खानले पनि समान १२ विकेट लिए। उनीहरूको प्रदर्शनले नेपाली खेलाडीले स्थापित तथा विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्न सक्ने सम्भावना देखाएको छ।
प्रतियोगिताको स्मरणीय व्यक्तिगत प्रदर्शनमध्ये विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेको ह्याट्रिक पनि रह्यो। पोखरा एभेन्जर्सविरुद्ध उनले चार ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। लगातार तीन बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेका सन्दीपको प्रदर्शनपछि पोखरा १३२ रनमा समेटिएको थियो। विराटनगरले उक्त खेल चार विकेटले जितेको थियो।
पोखरा एभेन्जर्सका युवा विदेशी ब्याटर युवराज सामराले कर्णाली याक्सविरुद्ध ४८ बलमा शतक बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। प्रतियोगिताको अन्तिम लिग खेलमा पनि कुशल भुर्तेल र सामराले दोस्रो विकेटका लागि १८६ रनको साझेदारी गरे। उनीहरूको प्रदर्शनमा पोखराले काठमाडौंविरुद्ध २० ओभरमा तीन विकेट गुमाएर २२४ रन बनायो, जुन एनपीएलको अहिलेसम्मकै उच्च योगफल हो।
उक्त खेलमा भुर्तेलले ५१ बलमा ९९ रन र सामराले ५५ बलमा ८९ रन बनाए। पोखराले खेल ५५ रनले जिते पनि अघिल्ला खेलको कमजोर प्रदर्शनका कारण प्लेअफमा पुग्न सकेन।
विदेशी खेलाडीमध्ये काठमाडौंका डेभिड वार्नरले लुम्बिनीविरुद्ध ६६ रन बनाए। कर्णालीका डेभिड मिलरले सुदूरपश्चिमविरुद्ध ५५ बलमा अविजित ९३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। विराटनगरका आन्द्रे रसेलले ब्याटिङ र बलिङ दुवैमा प्रभाव देखाए।
अघिल्ला संस्करणको तुलनामा यसपटक नेपाली युवा खेलाडीको व्यक्तिगत प्रदर्शन र नयाँ प्रतिभाको उदय सकारात्मक पक्षका रूपमा देखियो। तर, टोलीहरूको प्रदर्शनमा निरन्तरता कायम राख्न चुनौती देखियो। केही टोलीले एक खेलमा ठूलो योगफल बनाए पनि अर्को खेलमा सामान्य स्कोरमै समेटिए।
कीर्तिपुरको पिचको अवस्थालाई लिएर पनि प्रश्न उठे। केही खेलमा ब्याटिङ गर्न कठिन देखिएको पिचमा कम योगफल बने भने अन्य खेलमा ठूलो स्कोरसमेत बने। यसले प्रतियोगिताभरि पिचको एकरूपता र ब्याटिङका लागि अनुकूल वातावरणबारे बहस सिर्जना गर्यो।
लिग चरणका केही खेल भने निकै रोमाञ्चक बने। कर्णाली याक्सले विराटनगर किङ्सविरुद्ध १८७ रनको लक्ष्य एक बल बाँकी रहँदा पूरा गरेको थियो। सोमपाल कामीले ३२ बलमा अविजित ६२ रन बनाउँदै टोलीलाई जित दिलाएका थिए। त्यस्तै, विराटनगरले जनकपुरलाई दुई रनले हराएको खेल पनि प्रतिस्पर्धात्मक बनेको थियो। वर्षाका कारण केही खेल प्रभावित भए भने लुम्बिनी र चितवनबीचको एक खेल रद्द भएको थियो।
लिग चरणको शीर्ष स्थानमा रहेको लुम्बिनी र दोस्रो स्थानको सुदूरपश्चिमबीच हुने पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ। पराजित टोलीले भने दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।
त्यस्तै, तेस्रो स्थानको काठमाडौं र चौथो स्थानको चितवनबीच हुने एलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ। विजेता टोलीले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
तालिकाअनुसार पहिलो क्वालिफायर मंगलबार, एलिमिनेटर बुधबार, दोस्रो क्वालिफायर बिहीबार र फाइनल शनिबार हुनेछ। अब चार टोलीबीचको प्रतिस्पर्धाले एनपीएलको तेस्रो संस्करणको उपाधि कसले जित्ने भन्ने टुङ्गो लगाउनेछ।
प्रतिक्रिया