ठमेलमा विदेशी पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायीमा पलायो नयाँ आशा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ मंसिर २०८३, मंगलवार ०५:५३

काठमाडौं । शरद ऋतु सुरु भएसँगै काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ। गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीपछि सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान हुन थालेसँगै ठमेलका गल्लीहरूमा पर्यटकको उपस्थिति बाक्लिएको हो।

सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई नेपालको मुख्य पर्यटकीय सिजन मानिन्छ। पर्यटकको आगमन बढ्न थालेपछि ठमेलका व्यवसायीमा पनि उत्साह थपिएको छ।

ठमेलको त्रिदेवीमार्गमा पश्मिना व्यवसाय गर्दै आएका अनुप श्रेष्ठले बाढीका कारण प्रभावित पर्यटन व्यवसाय विस्तारै लयमा फर्किन थालेको बताए। प्राकृतिक विपद्का कारण व्यवसायी निराश भए पनि विदेशी पर्यटकको निरन्तर आगमनले आशा जगाएको उनको भनाइ छ। उनले बजारमा नक्कली पश्मिना उत्पादन सस्तो मूल्यमा बिक्री हुँदा वास्तविक पश्मिना व्यवसायी समस्यामा परेको पनि बताए।

लेखनाथ मार्गस्थित काठमाडौं आगन्तुक होटलका सञ्चालक पशुपति कँडेलले पर्यटकको सङ्ख्या बढे पनि होटल व्यवसायमा अपेक्षित सुधार नभएको बताए। आतिथ्य क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा र सस्तो मूल्यमा कोठा बिक्री गर्ने प्रवृत्तिले व्यवसाय प्रभावित भएको उनको भनाइ छ।

त्यस्तै, अमृत मार्गमा पुस्तक पसल सञ्चालन गर्दै आएका किरणदेव घिमिरेले पछिल्लो समय ठमेलका पसलहरूमा विदेशी पर्यटकको उपस्थिति बढेको बताए।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलले पर्यटकीय सिजन सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको जानकारी दिए। पर्यटकको सहजता र सुरक्षाका लागि परिषद्ले काम गरिरहेको उनले बताए।

रातिको समयमा हुने भीडभाड र शान्ति सुरक्षालाई ध्यानमा राखेर नेपाल प्रहरी, ट्राफिक प्रहरी, पर्यटक प्रहरी तथा महानगर प्रहरीसँग सहकार्य गरी सुरक्षा योजना बनाइरहेको डङ्गोलले जानकारी दिए।

काठमाडौं महानगरपालिकाका वडा नम्बर १६, १७, २६ र २७ मा फैलिएको ठमेलको ठूलो हिस्सा वडा नम्बर २६ मा पर्छ। पदयात्रा, पर्वतारोहण, किनमेल, रेस्टुरेन्ट, सांस्कृतिक अनुभव तथा रात्रिकालीन मनोरञ्जनका लागि ठमेल विदेशी पर्यटकको प्रमुख गन्तव्य मानिन्छ। ट्रेकिङका लागि आवश्यक ज्याकेट, जुत्ता, झोला तथा अन्य सामग्री पाइने भएकाले पनि नेपाल आउने धेरै पर्यटकको भ्रमण सूचीमा ठमेल पर्ने गरेको छ।

१० महिनामा १० लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को पहिलो १० महिनामा हवाई मार्गबाट १० लाख आठ हजार ६१६ विदेशी पर्यटक नेपाल आएका छन्। अक्टोबर महिनामा मात्रै एक लाख ३२ हजार ८१४ पर्यटक भित्रिएका छन्।

बोर्डका अनुसार जनवरीमा ९२ हजार ५७३, फेब्रुअरीमा एक लाख पाँच हजार ४४१, मार्चमा एक लाख २० हजार ५१६, अप्रिलमा एक लाख सात हजार ९३४, मेमा एक लाख दुई हजार ६२६, जुनमा ९१ हजार ३६३, जुलाईमा ७६ हजार ३७, अगस्टमा ९१ हजार ५६ र सेप्टेम्बरमा ८८ हजार २५६ पर्यटक नेपाल आएका थिए।

पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य सहदेव धमलाका अनुसार गत वर्षको तुलनामा सन् २०२६ को अप्रिलदेखि अक्टोबरसम्म पर्यटक आगमन ५ दशमलव ३६ प्रतिशतले बढेको छ। उनका अनुसार अप्रिलमा ७ दशमलव ३ प्रतिशत घटेको पर्यटक आगमन मेमा १९ दशमलव ३, जुनमा १९ दशमलव ५ र जुलाईमा २ दशमलव ३ प्रतिशतले बढेको थियो। अगस्टमा ३ दशमलव ६ प्रतिशत घटेको आगमन सेप्टेम्बरमा १२ दशमलव १ र अक्टोबरमा ३ दशमलव ४ प्रतिशतले बढेको उनले जानकारी दिए।

यसैबीच, यस वर्षको शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि कात्तिक २० गतेसम्म ७७ देशका एक हजार ६१३ आरोहीले अनुमति लिएका पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिए।

पर्यटन विभागले ४७ हिमाल आरोहणको अनुमति प्रदान गरेबापत ३३ करोड २९ लाख चार हजार ९२२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। सगरमाथासहित नेपालका हिमालको अवलोकन तथा आरोहणका लागि आउने पर्यटकले पर्यटन क्षेत्रको गतिविधि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

ठमेलमा बढ्दो पर्यटक चहलपहल र हिमाल आरोहणका लागि विदेशीको आकर्षणले यस वर्षको शरद पर्यटकीय सिजनप्रति व्यवसायीमा नयाँ आशा जगाएको छ। होटल, रेस्टुरेन्ट, ट्रेकिङ, यातायात र किनमेललगायत क्षेत्रमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor