काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जनभावना र जनअपेक्षाअनुसार काम नगरे सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन्।
सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले सरकारलाई सच्याएर सही बाटोमा अघि बढाउन आफूहरू प्रयत्नशील रहने बताए। सरकारले सुधारको बाटो नसमाते जनताले नै विकल्प खोज्ने उनको भनाइ थियो।
‘सरकार जनभावनाअनुसार अघि बढेन भने सदन, सडक र न्यायालयसम्म हामी प्रभावकारी रूपमा उपस्थित हुन्छौँ। वर्तमान सरकारलाई सच्याएर ठीक बाटोमा हिँडाउन हाम्रो प्रयास रहन्छ। तर सरकार सच्चिन र सुदृढ भएर अघि बढ्न तयार भएन भने जनताले विकल्पका रूपमा अन्य उपाय अपनाउन सक्छन्,’ उनले भने।
बस्नेतले २०८२ साल भदौ २३ र २४ गते भएको आन्दोलन हिंसात्मक र घातक बन्नुमा तत्कालीन गृहमन्त्री सुदन गुरुङलगायतको भूमिका रहेको आरोपसमेत लगाए। आफूहरू आन्दोलनलाई हिंसात्मक हुन नदिन सचेत रहेको उल्लेख गर्दै उनले वर्तमान सरकार पनि यस विषयमा उत्तिकै जिम्मेवार हुनुपर्ने बताए।
प्रतिक्रिया