नेपाल बैंकको ९०औँ वार्षिकोत्सव : उत्पादनशील क्षेत्रमा लगानी, सुशासन र डिजिटल बैंकिङलाई प्राथमिकता दिन अर्थमन्त्री वाग्लेको जोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ मंसिर २०८३, मंगलवार ०५:५५

काठमाडौं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा आयोजित समारोहमा बैंकको ऐतिहासिक योगदान र आगामी दिनमा बैंकिङ क्षेत्रले अवलम्बन गर्नुपर्ने सुधारका विषयमा चर्चा गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपाल बैंक स्थापना हुनुको उद्देश्य आर्थिक उन्नति, जनतालाई सुविधा र मुलुकको विकाससँग जोडिएको बताए। उनले बैंकले आगामी दिनमा उत्पादनशील क्षेत्रमा वित्तीय स्रोतको परिचालन, संस्थागत सुशासन तथा वित्तीय अनुशासन र प्रविधिमैत्री बैंकिङ सेवालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

उनका अनुसार बैंकिङ क्षेत्रको सफलता निजी क्षेत्रमा प्रवाह भएको कर्जाको आकारले मात्र नभई राष्ट्रिय उत्पादन, रोजगारी सिर्जना र आर्थिक वृद्धिमा पुर्‍याएको योगदानबाट मापन हुनुपर्छ। कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला उद्योगमा लगानी विस्तार गरी उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्न बैंकले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनले बताए।

बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जाको चुनौती समाधान गर्न कर्जा असुली, सम्पत्तिको गुणस्तर र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउनुपर्ने पनि उनको भनाइ थियो। सरकारी स्वामित्वको बैंक भएकाले नेपाल बैंकले पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता र जोखिम व्यवस्थापनमा उच्च मापदण्ड कायम गर्नुपर्ने उनले बताए।

त्यस्तै, बदलिँदो प्रविधि र ग्राहकको अपेक्षाअनुसार बैंकिङ सेवालाई सरल, सुरक्षित, छिटो र प्रविधिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए। डिजिटल बैंकिङ विस्तारसँगै साइबर सुरक्षा र तथ्यांक संरक्षणमा विशेष ध्यान दिनुपर्ने तथा ग्रामीण र दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न थप पहल गर्नुपर्ने उनले बताए।

अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रको सुधार, संस्थागत सबलीकरण र वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल बैंक आगामी दिनमा अझ सबल बनेर नेपालको आर्थिक समृद्धिको यात्रामा सशक्त साझेदार बन्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

slot gacor