काठमाडौं । जापानको ओत्सुकी सिटी र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबीच शिक्षा, स्वास्थ्य, सीप विकास तथा रोजगारीका क्षेत्रमा सहकार्य गर्ने महत्वपूर्ण समझदारी भएको छ।
समझदारीअनुसार कागेश्वरी मनोहराका युवालाई जापानी भाषा, संस्कृति तथा सीपमा आधारित व्यावहारिक तालिम प्रदान गरिनेछ। साथै, जापानमा अध्ययन तथा रोजगारीका अवसर प्राप्त गर्न आवश्यक सहजीकरण र सहयोग गरिनेछ।
नगर प्रमुख उपेन्द्र कार्कीले यो सहकार्यले स्थानीय युवालाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्नुका साथै उनीहरूको ज्ञान, सीप, क्षमता र आत्मनिर्भरता अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “हामी यो सहकार्यलाई दुई स्थानीय तहबीचको औपचारिक सम्बन्धमा मात्र सीमित राख्न चाहँदैनौँ। शिक्षा, स्वास्थ्य, रोजगारी, सीप विकास र सांस्कृतिक आदानप्रदानमार्फत नागरिकको जीवनस्तरमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन साझेदारीका रूपमा अघि बढाउन चाहन्छौँ।”
त्यस्तै, नगरपालिकाको स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन नगर अस्पतालको विकास, सेवा विस्तार तथा आवश्यक सहयोगका विषयमा पनि दीर्घकालीन सहकार्य गर्ने सहमति भएको नगर प्रमुख कार्कीले जानकारी दिनुभयो।
“अन्तर्राष्ट्रिय सम्बन्धको वास्तविक उपलब्धि नागरिकको जीवनमा देखिने परिवर्तन हो। हाम्रो लक्ष्य सहकार्यलाई अवसर, अवसरलाई उपलब्धि र उपलब्धिलाई समृद्धिमा रूपान्तरण गर्नु हो,” उहाँले भन्नुभयो।
जापानमा आयोजित कार्यक्रममा नगर प्रमुख कार्कीसहित उपप्रमुख शान्ता थापा र आनन्द भैरव माध्यमिक विद्यालयकी प्राचार्य सरु थापा कार्की सहभागी हुनुहुन्थ्यो।
यस सहकार्यबाट स्थानीय युवाका लागि अन्तर्राष्ट्रिय अध्ययन तथा रोजगारीका अवसर विस्तार हुनुका साथै नगरपालिकाको स्वास्थ्य सेवा सुधार र दुई स्थानीय तहबीच सांस्कृतिक सम्बन्ध विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया