काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कुकुर तिहार मनाइँदै छ। यमपञ्चकको दोस्रो दिन कुकुरलाई यमराजको दूत तथा परलोक यात्राको पहरेदारका रूपमा पूजा गर्ने धार्मिक परम्परा छ।
कुकुर तिहारका अवसरमा बिहानै कुकुरलाई माला लगाउने, निधारमा अबिरको टीका लगाइदिने र मीठा परिकार खुवाएर पूजा गर्ने गरिन्छ। घरमा पालिएका कुकुरसँगै सडकमा रहेका कुकुरलाई समेत माला र भोजन दिएर सम्मान गर्ने चलन छ। यसरी पूजा गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
वैदिक सनातन परम्परामा कुकुरलाई बफादारिता, साहस र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ। ऋग्वेदमा उल्लेखित सरमालाई कुकुरहरूको आमा मानिन्छ। उनले स्वर्गका राजा इन्द्रलाई हराएको वस्तु पत्ता लगाउन सहयोग गरेको प्रसंग वैदिक ग्रन्थमा उल्लेख छ।
नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालका अनुसार कुकुर तिहारले मानिसलाई बफादारिता, निष्ठा र सुरक्षाको महत्त्व बुझाउने धार्मिक तथा सांस्कृतिक सन्देश दिन्छ। कुकुरलाई यमराजको दूत मानिने भएकाले यमराजको भयबाट मुक्त हुने धार्मिक विश्वासका आधारमा यसको पूजा गर्ने परम्परा रहेको उनले बताए।
ढकालले कुकुरको बफादारिताबाट मानिसले पनि आफ्नो व्यवहारमा निष्ठा र इमानदारिता विकास गर्नुपर्ने सन्देश यस पर्वले दिने बताए। घरको सुरक्षामा कुकुरले खेल्ने भूमिका पनि सम्मानयोग्य रहेको उनको भनाइ छ। अपरिचित व्यक्ति आउँदा भुकेर घरपरिवारलाई सचेत गराउने कुकुरको स्वभावले यसको सुरक्षात्मक भूमिका देखाउने उनले बताए।
तिहार पाँच दिनसम्म मनाइने पर्व हो। यस अवधिमा काग, कुकुर, गाई, गोरु तथा दाजुभाइको पूजा गर्ने परम्परा छ। मानव, जीवजन्तु, प्रकृति र पारिवारिक सम्बन्धलाई महत्त्व दिने भएकाले तिहारलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष पर्वका रूपमा लिइन्छ।
प्रतिक्रिया