काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आगामी कात्तिक २६ गते कारागारमुक्त हुने भएका छन्।
६५ वर्ष उमेर पुगेपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअन्तर्गत कैद छुटको माग गर्दै रायमाझीले दिएको निवेदनका आधारमा काठमाडौं जिल्ला अदालतले संशोधित कैदीपुर्जी जारी गरेको हो। अदालतले कारागार कार्यालय डिल्लीबजारलाई संशोधित कैदीपुर्जी पठाएसँगै उनको रिहाइको मिति निश्चित भएको हो।
डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालका अनुसार अदालतबाट संशोधित कैदीपुर्जी सोमबार प्राप्त भएको छ। सोही पुर्जीअनुसार रायमाझी कात्तिक २६ गते कारागारबाट छुट्नेछन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझीलाई काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाएको थियो। उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए।
रायमाझी कात्तिक २५ गते ६५ वर्ष पूरा हुँदैछन्। ज्येष्ठ नागरिकलाई कानुनबमोजिम कैद सजायमा २५ प्रतिशत छुट दिने व्यवस्था रहेकाले उनले उक्त सुविधा पाएका हुन्। सोही व्यवस्थाअनुसार उनी कात्तिक २६ गते रिहा हुन लागेका हुन्।
प्रतिक्रिया